काठमाडौं । चाडवाडमा उपभोक्तालाई ठगीबाट जोगाउन काठमाडौं उपत्यकामा सरकारी संयन्त्र परिचालित भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
विभागले मंगलबार प्रकाशित गरेको पछिल्लो बुलेटिनअनुसार खाद्य पदार्थको नियमित अनुगमन गर्न उपत्यकामा तीन टोली परिचालित भएका हुन्।
विभागबाट खटिएको टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौं महानगर–२५ स्थित न्यूरोडमा रहेको गौतम स्वीट्स, वडा–२४ स्थित इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एन्ड स्नाक्स, वडा–२२ न्यूरोडस्थित कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एक पटक प्रयोग भएको तेल बारम्बार प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
ललितपुरको गोदावरी नगरपालिका–११ स्थित प्रशंसा कलेक्सन एन्ड रिफाइन प्रशोधन केन्द्र अनुगमन गरिँदा वनस्पति घ्यूलाई खिया लागेको ड्रममा तताएर जुजुघ्यू नाममा एक र दुई लिटरका ७२ डब्बामा नक्कली घ्यू र १५० ग्रामको १०० डब्बा नक्कली घ्यू बरामद भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। बरामद नक्कली घ्यू नष्ट गरिएको छ।
विभागले मध्यपुर थिमि नगरपालिका– ३ स्थित मेहता स्टोर र सोही नगरपालिका –५ स्थित शुभलक्ष्मी जनरल स्टोरमा पनि अनुुगमन गर्दा उपभोग्य मिति सकिएका खाद्यपदार्थ बेच्न राखिएको पाइएकाले छुट्टै ठाउँमा व्यवस्थापन गर्न निर्देशन दिएको छ।
बजार अनुगमनका क्रममा मूल्यसूची नराखिएको र व्यवसायसम्बन्धी कागजात नभेटिएपछि व्यवसायीलाई समय दिएरै अपडेट हुन भनिएको प्रवक्ता महर्जनले बताए।
एकै दिन ६ व्यावसायिक फर्ममाथि
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्ममाथि कारबाही गरिएको जनाएको छ।
चाडपर्व लक्षित बजार अनुगमनका बजार अनुगमन सुरु गरेसँगै काठमाडाौं भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यावसायिक फर्म एवं किराना पसलमाथि कारबाही गरिएको विभागबाट मंगलबार प्रकाशित सूचनामा उल्लेख छ।
अनुगमनका क्रममा कैफियत भेटिएका रेस्टुराँ, किराना पसल, मदिरा एवं सुर्तीजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसललाई न्यूनतम ५ देखि २० हजार रुपैयाँसम्मको जरिमाना एवं स्पष्टीकरण सोधिएको विभागले जनाएको छ।
विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत तीव्र पारिएको बताएको छ।