काठमाडौं। सेयर बजार साउन ६ अघिकै अवस्थामा फर्किएको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अंक अर्थात् २.३३ प्रतिशतले घट्दै २४७०.३९ बिन्दुमा सीमित भएसँगै नेप्से साउन ६ अघिकै अवस्थामा फर्किएको हो।
यसअघि, पछिल्लो पटक २०८१ साउन ६ गते नेप्से २४८५.९४ बिन्दुमा थियो भने साउन ३ गते २०२४.३२ बिन्दुमा थियो। खासगरी, असार १६ गते २०३७.०९ बिन्दुमा रहेको सेयर बजार निरन्तर सात हप्तासम्म ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेर लगातार घटिरहेको छ। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ५९.०२ अंक अर्थात् २.२८ प्रतिशतले घटेर २५२९.३३ बिन्दुमा बन्द भएको थियो।
सामान्यता पछिल्लो उचाइबाट औसत ५–१० प्रतिशत सूचक घटेको अवस्थालाई ‘पुलब्याक’ भनिन्छ भने १०–२० प्रतिशतको गिरावटलाई करेक्सनका रूपमा लिइन्छ। २० प्रतिशतभन्दा बढी घटेमा त्यसलाई बियरिस सुरु भएको मानिन्छ। हाल ३०००.८१ बिन्दुबाट नेप्से ५३० अंक अर्थात् १७.६६ प्रतिशतले घट्दै २४७०.३९ बिन्दुमा आइसकेको छ। यसर्थ, यसले नेप्से २००० बिन्दुमा हुँदाकै झल्कोसमेत दिएको छ।
मंगलबार नेप्सेमा कुल ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ५ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ।
मंगलबार पनि फाइनान्स समूहको उच्च गिरावटले निरन्तरता पाएको छ। आज फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक अर्थात् ४.६० प्रतिशतले घटेको छ। अघिल्लो दिन सोमबार पनि फाइनान्स समूह ५.५६ प्रतिशतले घटेको थियो।
मंगलबार बैंकिङ समूहको सेयर मूल्यमा २ प्रतिशत, विकास बैंक समूहमा ३.०३ प्रतिशत, होटल तथा पर्यटन समूहमा ४.६० प्रतिशत र जलविद्युत समूहमा २.८० प्रतिशतको गिरावट आएको छ।
यस्तै, लगानी समूहको सेयर मूल्यमा २.९८ प्रतिशत, जीवन बिमा समूहमा १.२२ प्रतिशत, उत्पादन समूहमा १.९५ प्रतिशत, लघुवित्त समूहमा २.३८ प्रतिशत र निर्जीवन बिमा समूहमा १.३९ प्रतिशतको गिरावट आएको छ।