काठमाडौं । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का गभर्नर शक्त्तिकान्त दासले २१औं शताब्दीका केन्द्रीय बैंकले ५ मुख्य चुनौती सामना गर्नुपर्ने बताएका छन्। हिमालयन शमशेर मेमोरियल लेक्चर २०२४ कार्यक्रमलाई विशेष सम्बोधन गर्दै गभर्नर दासले चुनौतीबारे प्रष्ट्याएका हुन्।
नेपाल राष्ट्र बैंकले नेपालका प्रथम गभर्नर शमशेर राणाको स्मृतिलाई सम्बोधन गर्न नेपाल आएका आरबीआईका गभर्नर दासले २१औं शताब्दीका केन्द्रीय बैंकले जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता, वित्तीय क्षेत्रमा प्रविधिको रुपान्तरण, फिनटेक अवधारणा, साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताए।
जलवायु परिवर्तनले मूल्यवृद्धिमा हासिल गरिएको उपलब्धि उल्ट्याउन सक्ने उनले औंल्याए। जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा ह्रास ल्याउन सक्ने र पर्याप्त उत्पादन नहुँदा मूल्यमा चाप पर्ने उनको आकलन छ।
केन्द्रीय बैंकको मुख्य कार्यमध्ये मूल्यवृद्धि नियन्त्रण पनि हो। यसरी आपूर्ति श्रृंखलामा अवरोध उत्पन्न हुने वित्तिकै त्यसको सीधा असर मूल्यवृद्धिमा पर्ने उनको संकेत थियो।
त्यसैगरी बढ्दो भूराजनीतिक अस्थिरताले केन्द्रीय बैंक थप दबाबमा पर्ने खतरा बढेको छ। भूराजनीतिक अस्थिरता बढ्दा आपूर्ति सञ्जालमा पुगेको क्षतिले अकल्पनीय रुपमा अस्थिरता निम्त्याइरहेको उनको भनाइ थियो। एकातिर मूल्य वृद्धिको चापपर्छ भने अर्कोतिर अर्थतन्त्रलाई संकुचत बनाउँछ। यसता विषयलाई केन्द्रीय बैकले बढी चनाखो भएर ध्यान दिनुपर्ने उनको सुझाव थियो।
वित्तीय क्षेत्रमा बढ्दो प्रविधिको रुपान्तरण पनि केन्द्रीय बैंकका लागि मुख्य चुनौती भएको उनको भनाइ छ। संकटमा समयमा प्रविधिले चाँडो फड्को मारेकाले केन्द्रीय बैंकलाई अवसरसँगै चुनौती थपिएको उनले जानकारी दिए।
त्यसैगरी, नवीन फिनटेक अवधारणाले वित्तीय स्थायित्वमा चुनौती थपेको उनको भनाइ छ। डिजिटल ऋणदाताहरुको सुपरीवेक्षणको चासो, डाटा सुरक्षा, साइवर सुरक्षा जस्ता कुराहरु नौलो रुपमा देखा परेको उनको भनाइ छ।
साइबर सुरक्षाअन्तर्गत बैंकहरुले निक्षेपकर्ताका तथा ऋणीका गोप्य सूचनाको दुरुपयोग हुने खतरा बढ्छ। निक्षेपकर्ता र ऋणीका गोप्य सूचना बाहिरिँदैनन् भन्ने प्रत्याभूति पनि केन्द्रीय बैंकले गराउनुपर्ने छ।
कार्यक्रममा गभर्नर दासले केन्द्रीय बैंकको महत्व, सान्दर्भिकता र आयामहरु बढ्दै गएको पनि बताए। सन् १९९० ताका केन्द्रीय बैंकहरुले मूल्य स्थायित्वका निम्ति मुद्रास्फीति लक्षित मौद्रिक नीति प्रस्तुत गर्ने गरेका हुन्। उक्त कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्न केन्द्रीय बैंकले स्वायत्तताको अभ्यास गरेको उनले बताए।
तर, सुरुमा केन्द्रीय बैंकले आफ्ना कामकारबाही अतिगोप्य राख्ने गरेका थिए। तर, स्वायत्ततासँगै बाहिरी जगतसँग सञ्चार गर्नुपर्ने दायित्व बढेसँगै आफ्ना निर्णयलाई पारदर्शी बनाउन थालेको पनि बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्कालीन नेपाल राष्ट्र बैंकको नामले केन्द्रीय बैंक स्थापना गर्ने निर्णयगरेसँगै बैंकको ऐन मस्यौदा बनाउन र गभर्नरको प्रस्ताव जबरासमक्ष आएको जानकारी दिए।
राणाले प्रस्ताव स्वीकार गर्दै भारत, अष्ट्रेलिया, क्यानडालगायत मुलुकमा भएको केन्द्रीय बैंकको ऐन अध्ययन गरी राष्ट्र बैंकको स्थापनाको काम सुरु गरेका हुन्।
तत्कालीन समय तराईमा नेपाली मुद्रा चलनचल्तीमै थिएन। मालपोत र अध्यागमनमा पनि भारतीय मुद्रा नै चल्थ्यो । यस्तो अवस्थामा भारतीय मुद्राको साटो नेपाली नोट चलनचल्तीमा ल्याउनु निकै चुनौतीपूर्ण काम थियो । यसका लागि तीन वर्षसम्म जबराले काम गरेको अधिकारीले बताए।
नेपाली मुद्रा र भारतीय मुद्रा सटही दर स्थिर नहुँदासम्म नेपाली मुद्रा चलनचल्तीमा ल्याउन गाह्रो हुने निष्कर्षपछि जबराको पहलमा इलामदेखि पश्चिमसम्म विभिन्न सटही केन्द्र सुरु गरेको अधिकारीको भनाइ छ।
तीन वर्षको अध्ययनपछि भारतीय १०० बराबर नेपाली मुद्रा १६० रुपैयाँ कायम हुने गरी सटही दर निर्धारण गर्ने सहमति भयो, जुन आजसम्म कायमै छ।