काठमाडौं । मुख्य चाडवाडका बेला उपत्यका बाहिरिने यात्रुकाे यस वर्ष पनि सडक यात्रा कष्टकर हुने देखिएकाे छ। चाडवाडमा गन्तव्यमा पुग्ने सडक भत्किएर लथालिंग हुँदा विगत वर्षमा जस्तै यस वर्ष पनि सडक यात्रा कष्टकर हुने निश्चित भएकाे हाे।
देशभरिका मुख्य राजमार्ग निर्माण एवं मर्मत गर्ने निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तगर्तको सडक विभागले चाडवाड नजिकिएसँगै सडक मर्मतलाई बढी प्राथमिकता दिए पनि समयमै काम हुन सक्ने अवस्था छैन। २०८१ वैशाखदेखि असोज ७ सम्म बर्खाले साना–ठूला गरी ३५ वटा राजमार्गका ६१८ ठाउँमा अवरुद्ध भएको विभागकाे तथ्यांकले देखाउँछ।
ती स्थानमा तत्काल मर्मत गरेर अवरोध हटाइए पनि फेरि पानी पर्दा वा अन्य कारण बाढीपहिरोको जोखिम कायमै छ। अवरुद्ध ६१८ ठाउँमध्ये ३३२ स्थानमा असोज ७ सम्म एकतर्फी मात्रै सवारी सञ्चालन गर्न सकिएको विभागले जनाएको छ। तर, कुन–कुन स्थानमा एकतर्फी सवारी सञ्चालन भएका छन् भन्नेबारे खुलाइएको छैन।
कहाँ–कहाँ छ समस्या
विभागले अद्यावधिक गरिहेको सडक अवरोधको २०८१ वैशाखदेखि असोज पहिलो सातासम्मको विवरणअनुसार सबैभन्दा धेरै मध्यपहाडी राजमार्गमा समस्या देखिन्छ। मध्यपहाडीमा पर्ने पाँचथर, उदयपुर–ओखलढुंगा सीमाना, सिन्धुली र बाग्लुङका अधिकांश स्थान, रामेछाप, धादिङ, पाल्पा, पूर्वी रुकुमलगायत जिल्लामा धेरै बाढीपहिरो गइरहेको छ।
त्यस्तै साँफेबगर–मार्तडी–कोल्टि सडकको अछाम खण्ड, डुम्रे–बेसी सहर–चामे सडकको लमजुङ क्षेत्र, कालिगण्डकी करिडारको घाँसा बगर (मुस्ताङ), रुप्से झरना (म्याग्दी), बिपी राजमार्गको कालढुंगा (काभ्रे), कोसी राजमार्गको समाटार (संखुवासभा) मा पनि पहिरो गइरहने समस्या देखिएको विभागले जनाएको छ।
तमोर करिडोरको चतारा/बराहा क्षेत्र (मोरङ), ठोरी–मुग्लिन–आरुघाटको सिमताल र जलविरे (चितवन), कान्ति राजपथको महादेवटार (हेटौंडा), अरनिको राजमार्गमा पर्ने जुरे, कोदारी र धुलिखेल–खावा सडक (सिन्धुपाल्चोक/काभ्रे), सिद्धार्थ राजमार्गको भालुपहाड (स्याङ्जा) र चर्चरे (पाल्पा), सोलुखुम्बुको थोपलेनी–तिंगला, त्रिभुवनपथको बागमारा (मकवानपुर), नुवाकोटको गर्जे, ललितपुरको देभिसद, डोटीको समूहगाड, तल्कोट, बानेडुंग्रिसैन, तीनताली, मदनभण्डारी राजमार्गको पीपलडाँडा (पाल्पा)मा बाढीपहिरोले सडक अवरुद्ध हुने जोखिम छ।
धनकुटाको ओख्रे, मुस्ताङको मार्फा खोला, कालिकोटको मोफला बजार क्षेत्र, डडेलधुराको साउखर्क र रडुवा, कैलालीको गोपाले, कञ्चनपुरको सुदा, पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको चोर खोला, कर्णाली करिडोरको दैलेखस्थित बेलटाँडी बजार, दाङको कमिरेचौर, कपिलवस्तुको लाउरे बजार, तनहुँको घाँसीकुवा र कमलबारी, बाजुराको मार्तडी तथा ताप्रिसेरा, दार्चुलाको उर्लानी, पन्याबाज र बेत, जुम्लाको बोतालगायत देशका अधिकांश ठाउँमा सानाठूला पहिरो गइरहेकाे विभागले बताएकाे छ। यद्यपि पहिरो सम्भावित क्षेत्रमा पूर्ण रुपले सडक अवरुद्ध नभए पनि यात्रा जोखिम र दसैंतिहारमा समस्या हुने विभागकाे अनुमान छ।
के गर्दै छ विभाग
विभागका महानिर्देशक रामहरि पोखरेल जेठदेखि नै मर्मतका सामान र इक्युपमेन्ट बढी सडक बिग्रिने तथा पहिरो सम्भावित क्षेत्रमा राखेको बताउँछन्। ‘देशभरि करिब १३५ ठाउँमा मर्मतसम्बन्धी उपकरण छन्, त्यत्तिकै संख्यामा उपकरण ‘स्टक’ पनि राखिएको हुन्छ,’ महानिर्देशक पोखरेल भन्छन्, ‘कतै अत्यधिक धेरै पहिरो गयो वा सडकमा समस्या आयो भने स्टकका उपकरण प्रयोग हुन्छन्।’
विभागले पटके सडक मर्मत सम्भार करिब ६ हजार किमि गर्दै छ। यसमध्ये दसैंअघि ३ हजार ८५६ किमि सडक खाल्डोरहित बनाइने विभागका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर (सिडिई) अमितकुमार शर्मा बताउँछन्। खाल्डारहित बनाउने ३ हजार ८५६ किमि लक्ष्यमध्ये असोज ७ सम्म ७७२ किमि मर्मत भइसकेकाे उनकाे भनाइ छ।
३३ वटा सडक डिभिजन कार्यालयबाट १११ वटा ठेक्का लगाएर काम भइरहेको छ। १११ वटा खाल्डाखुल्डी पुर्ने ठेक्कामध्ये ४ ठाउँमा सम्पन्न भइसकेको सूचना अधिकारी शर्माको भनाइ छ। विभागले असोज १० सम्म बनाएकाे खाल्डाखुल्डीरहित सडक बनाउने योजना समय सम्पन्न नभए घटस्थापनासम्म सबै सडकको खाल्डा पुर्ने तयारी छ।
विभागको मर्मतसंभार महाशाखा प्रमुख अर्जुन अर्याल ८० वटा राजमार्गमा हुने चाडवाडलक्षित ६ हजार किमि पटके मर्मतका लागि १ अर्ब ४५ करोड रुपैयाँ बजेट पाएकाे बताउँछन्। उक्त बजेट सडक मर्मतका लागि पर्याप्त नभए पनि पुर्याउनुपर्ने बाध्यता रहेको महाशाखा प्रमुख अर्यालकाे भनाइ छ।
अरनिको राजमार्गमा पर्ने धुलिखेल–खावा सडक यात्रा सहजीकरण गर्न विभाग लागिरहेको महाशाखा प्रमुख अर्याल बताउँछन्। ‘धुलिखेल–खावामा ४ किमि निर्माण गर्नुपर्नेमध्ये २ किमि कालोपत्रे गर्न मिल्ने भएको छ,’ उनी भन्छन्, ‘निर्माणाधीन भएकाले त्यहाँ मर्मत गर्न मिल्दैन।निर्माण व्यवसायीलाई भनिरहेका छौं। भएन भने दसैंका लागि विभाग आफैंले व्यवस्थापन गर्छ।’
दसैंतिहार बिदामा पर्यटक पुग्ने प्रमुख स्थलमध्येको मुस्ताङ जाने सडक मर्मतमा पनि विभागले काम गिरिरहेको उनले जानकारी दिए।
असोज ४ गते भौतिक मन्त्रालयमा नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएकाे छ। विस्तार गर्न खनिएको सडक लामो समयसम्म निर्माण नहुँदा यात्रुलाई सास्ती भएको भन्दै भौतिक मन्त्री देवेन्द्र दाहालको अगुवाइमा सहमति भएको मन्त्रालयले जनाएको छ।
२०८१ भदौ २४ मा अरनिको राजमार्गमा पर्ने धुलिखेल–खावा सडक निर्माण सुस्त भएको भन्दै संघीय सांसदले स्थलगत अनुगमनसमेत गरेका थिए। निर्माण व्यवासायीले सुस्त काम गर्दा सडक निर्माणमा ढिलाइ भएर यात्रुले सास्ती बेहोर्नुपरेको सांसदले बताएका थिए।
घट्दो बजेट
देश संघीयतामा गएको ९ वर्ष बित्दा पनि सडक मर्मतको एउटा मात्रै जिम्मेवार निकाय ‘सडक बोर्ड नेपाल’ छ। बोर्डले तीन तहका सरकारले मर्मत गर्ने सडकका लागि आवश्यक बजेटमा समन्वय गर्छ । तर, सडक बनाउन सक्रिय सरकारले मर्मतमा ख्याल नगरेको विषय बजेट विनियोजनको अवस्थाबाट प्रष्ट हुन्छ।
सडक बोर्ड नेपालले आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब, २०७७/७८ मा ७ अर्ब, २०७८/७९ मा ७ अर्ब, २०७९/८० मा ३ अर्ब ६६ करोड र चालू आव (२०८०/८१) मा ४ अर्ब ३७ करोड रुपैयाँ बजेट प्राप्त गरेको थियो। त्यसबाहेक बोर्डले पेट्रोलामा प्रतिलिटर ४ र डिजेलबाट प्रतिलिटर २ रुपैयाँ लेब, सवारी दर्ता, रुट परमिट लिएको शुल्क, टोल शुल्क उठाएर बजेट बनाउने बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसी बताउँछन्। उनी भन्छन्, ‘समग्रमा भन्दा सडक मर्मतका लागि रोड बोर्डले पाएको बजेट पर्याप्त छैन, घट्दो छ।’
अर्थ मन्त्रालयले चालू आवका लागि दिएको ४ अर्ब ३७ करोड र बोर्डको आफ्नै रकम ५ अर्ब १८ करोड गरी कुल ९ अर्ब ५५ करोड रुपैयाँ बजेट रहेको निर्देशक केसीले बताए। यसमध्ये यो वर्ष सडक विभागलाई ५ अर्ब ६२ करोड रुपैयाँ दिने योजना बोर्डको छ।
‘चालू आवमा ५ अर्ब ६३ करोड विभागलाई जान्छ। दसैंअघिको मर्मत र गत वर्षको भुक्तानीका लागि एक तिहाइ अर्थात् १ अर्ब ८७ करोड रुपैयाँ दिइसकेका छौं। त्यसबाट गत वर्षको भुक्तानी दिएर विभागले बाँकी पैसा मर्मतमा खर्च गर्छ,’ केसीले क्यापिटल नेपालसँग भने।
दसैं नजिकिएसँगै हरेक वर्ष अग्रिम टिकट बुकिङदेखि सडक मर्मत विषय चर्चामा रहन्छ। तर, भाडा समायोजन र सडक दुरवस्थाको कारण देखाउँदै अग्रिम टिकट बुकिङ नखुलाएका व्यवसायीले असाेज १२ देखि खुलाउन सहमत भएका छन्।