काठमाडौं। दुई महिनामा ६ अर्ब ७० करोड रुपैयाँ बराबरको साढे ४ लाख स्मार्ट फोन नेपाल भित्रिएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन र भदौ)मा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ बराबरको ४ लाख ५४ हजार ९५८ थान स्मार्टफोन नेपाल भित्रिएको हो।
स्मार्ट फोन आयातबाट सरकारले १ अर्ब २५ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ५ अर्ब ३६ करोड ५२ लाख रुपैयाँ बराबरको ३ लाख ६६ हजार ४८१ स्मार्ट फोन नेपाल भित्रिएको थियो, जसबाट सरकारले १ अर्ब बढीको राजस्व संकलन गरेको थियो।
भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको पहिलो दुई महिनाको तुलनामा चालू आर्थिक वर्षको दुई महिनामा करिब ८८ हजार बढी स्मार्ट फोन नेपाल भित्रिएको छ।
यद्यपि, अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा भने ६ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको ४ लाख ३८ हजार ९८५ स्मार्टफोन नेपाल भित्रिएको थियो। त्यसबाट आयातबाट सरकारले १ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको थियो।
चालू आर्थिक वर्षको साउन र भदौमा सबैभन्दा बढी स्मार्ट फोन चीनबाट आयात भएको छ। यस अवधिमा चीनबाट ४ अर्ब ६ करोड ७२ लाख रुपैयाँ बराबरको ३ लाख १८ हजार ९०३ स्मार्टफोन नेपाल भित्रिएको छ, जसबाट सरकारले ७५ करोड ८४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।
चीनपछि दोस्रोमा सबैभन्दा बढी स्मार्टफोन भारतबाट नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ। यसअवधिमा भारतबाट २ अर्ब ५५ करोड ३५ लाख रुपैयाँ बराबरको १ लाख ३५ हजार ५७ स्मार्टफोन नेपाल आएको छ। यसबाट सरकारले ४७ करोड ६२ लाख ५४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ।
नेपालमा आउने अधिकांश स्मार्टफोन चीन र भारतपछि जापानबाट आएको देखिन्छ। चालू आर्थिक वर्षको दुई महिनामा जापानबाट २३७ थान, संयुक्त राज्य अमेरिकाबाट १७० थान, अरबबाट १८३, कुवेतबाट ३९ र कतारबाट ५३ स्मार्टफोन नेपाल भित्रिएको छ।