काठमाडौं। दसैं/तिहारको छोटो बिदामा नेपालभित्रै घुमघामको सोचमा हुनुहुन्छ। यदि छोटो समयका लागि पारिवारसहित घुम्न निस्कने योजना बनाउनु भएको छ भने तपाईंका लागि हुन सक्छन् यी सात उत्तम गन्तव्य।
मुस्ताङ
मनोरम दृश्य, पृथक भूगोल, हिमाली जीवनशैली, धार्मिक सम्पदा आदि हिमालपारिको जिल्ला मुस्ताङका आकर्षण हुन्। विदेशी पर्यटकमाझ अन्नपूर्ण पदमार्गका कारण प्रख्यात मुक्तिनाथ आन्तरिक पर्यटकका लागि भने धार्मिक आस्थाको केन्द्र हो। मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको साझा तीर्थस्थल हो।
काठमाडौंदेखि निजी सवारी साधनमा मुस्ताङ जान सकिन्छ। पोखरा–जोमसोम दैनिक हवाईजहाज पनि चल्छ। विकट भूबनोट रहेको उपल्लो मुस्ताङ तिब्बती रहनसहन र संस्कृतिको भण्डार पनि हो, जहाँ प्राचीन गुम्बाहरू, स्तूपा आदि दर्शनीय मानिन्छन्।
जिरी
स्विजरल्यान्डको जुरिच सहरसँग तुलना गरिँदै आएको जिरी दोलखाको एक मनोरम पर्यटन गन्तव्य हो। विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेशद्वारका रूपमा समेत कुनै समय परिचित जिरी आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो। विषेशगरी जिरेल समुदायको बाहुल्य रहेको जिरी पुग्ने जो कोही त्यहाँको प्राकृतिक सुन्दरताले मन लोभ्याउने गर्छ।
राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी पुग्न बसमा ६ घन्टा यात्रा गर्नुपर्छ। तामाकोशीको सुसेलीसँगै, चारैतिर हरियाली, सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमंग जगाउँछ। त्यहाँका धेरै डाँडामा चियाखेती गरिएको छ। चिया बगानका कारण पनि जिरीको सौन्दर्य बढेको छ। त्यहाँ उत्पादित अर्थोडक्स चिया प्रख्यात छ। स्थानीय स्तरमा उत्पादित चीजले राम्रो बजार लिएको छ। जर्मन र नेपालीको संयुक्त लगानीमा सञ्चालित लामा प्रजनन केन्द्र पनि रहेका कारण यो क्षेत्र कृषि पर्यटनका लागि पनि राम्रो क्षेत्र हो। जिरेल जातिको बसोबास रहेको जिरीमा राम्रा होटल तथा लज छन्। विद्यालय र कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ रुचाउनेका लागि जिरी महत्त्वपूर्ण क्षेत्र मानिन्छ।
जिरी काठमाडौंबाट टाढा भए पनि यसको विकास लोभलाग्दो छ। स्विजरल्यान्ड सरकारले जिरीको भूबनोट आफ्नो जस्तै लागेर यसको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ। २०१४ सालदेखि स्विस सरकारको सहयोगमा जिरी बहुउद्देश्यीय विकास परियोजना सुरु भएको हो। परियोजनाले कृषि सडक, शिक्षा तथा ग्रामीण विकासमा सहयोग गरिरहेको छ। स्विस सरकारको सहयोगमा जिरीमा स्तरीय अस्पताल, भौतिक सुविधासम्पन्न विद्यालय छन्। स्विस सरकारको सहयोगमा वृक्षारोपण भएपछि त्यहाँका सबै डाँडा सल्लाका रुखले हरिया छन्।
बन्दिपुर
तनहुँमा रहेको पर्यटकीय स्थल बन्दिपुर नेवारी कला र संस्कृतिका लागी प्रसिद्ध छ। गण्डकी प्रदेशकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका वरिपरि डाँडा हाइकिङका दृष्टिले उपयुक्त मानिन्छन्। बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ।
पोखरामा रहेका कम्पनीले बन्दिपुरको प्याराग्लाइडिङ व्यवस्थापन गरेका छन्। सेती नदीमा र्याफ्टिङ गर्न दमौली आउनेले पनि बन्दिपुरमा एक दिन बास बस्ने गरेका छन्। १ हजार १ सय ५० मिटर उचाइमा रहेका भन्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडर तल फाल हाल्ने गर्छन्।
पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दिपुर अत्यन्त उपयुक्त गन्तव्य हो। मुग्लिङबाट आधा घन्टा गाडीमा गएपछि पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ। त्यहाँबाट थप आधा घन्टामा बन्दिपुर बजार पुगिन्छ।
पुनहिल
पदयात्राप्रेमीले एक उत्कृष्ट गन्तव्यका रूपमा पुनहिललाई लिने गर्छन्। अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी–पुनहिल क्षेत्र म्याग्दीको पर्यटन विकासको प्रमुख आधारसमेत बनेको छ। म्याग्दी भ्रमण गर्ने ९० प्रतिशत घोडेपानी–पुनहिल क्षेत्र पुग्ने गर्छन्।
समुन्द्र सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिल चारैतिरबाट गुराँस जंगलले घेरिएको पहाडको टाकुरामा छ। त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, धौलागिरि, गुर्जा, मानापाथीलगायत हिमचुचुरा नजिकबाट नियाल्न सकिन्छ। सहरी कोलाहल र प्रदूषित वातावरणदेखि टाढा रहेको पुनहिल पुग्दा उमंगको अनुभव हुन्छ।
नेपालमा पाइने ३२ प्रजातिमध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबीलगायत आठ प्रकारका गुराँस पाइन्छन्। पोखरादेखि पुनहिल र पुनः पोखरा फर्कन पाँच दिनको समय छट्ट्याउनु उपयुक्त हुन्छ।
घलेगाउँ
लमजुङको घलेगाउँ ग्रामीण पर्यटनका लागि प्रसिद्ध छ। पछिल्लो समय युवा वर्गले निकै रुचाएको गन्तव्य घलेगाउँमा होमस्टेमार्फत पर्यटन सेवा दिइँदै आएको छ। घलेगाउँमा अतिथि सत्कार निकै आकर्षक छ। यातायातको सुविधा पुगिसकेको घलेगाउँमा खानबस्न प्रशस्त होमस्टे बनेका छन्। प्राकृतिक सुन्दरता, रमणीय बस्ती र होमस्टेको सुविधाले गर्दा अहिले त्यहाँ घुम्न प्रशस्त पर्यटक त्यहाँ पुग्छन्।
काठमाडौंबाट छोटो बिदा लिएर भ्रमण गर्न घलेगाउँ उत्तम गन्तव्य मानिने दसैं बिदामा एक/दुई दिन त्यहाँ घुम्न गए समय खेर गएको अनुभूति बिलकुलै हुन्न।
भेडेटार
पूर्वको रमणीय स्थलका रूपमा प्रख्यात छ। धनकुटाको भेडेटार धरानबाट १६ किलोमिटर उत्तरमा सुनसरी र धनकुटाको सिमानामा अवस्थित छ। समुद्री सतहबाट १ हजार ४३० मिटर उचाइमा पहाडी क्षेत्रमा अवस्थित भएकाले मानिसहरू गर्मी छल्नका साथै चिसो वातावरणमा रम्न भेडेटार पुग्छन्। पहाडी भेगको प्राकृतिक सुन्दरता हेर्न आउने गर्छन्। भेडेटारको भ्यु टावर अर्थात् चाल्र्स प्वाइन्ट निकै चर्चित छ। २०३८ सालमा बेलायती युवराज चाल्र्स सैलुङ डाँडाको टुप्पोमा चढेकाले यस डाँडालाई चाल्र्स प्वाइन्ट नामकरण गरिएको हो।
भेडेटारबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृंखलाहरु हेर्न सकिन्छ। यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएकाले घुम्न जान एकदम उपयुक्त मानिन्छ।
भेडेटारनजिकै पाथीभरा मन्दिर छ भने केही तल नमस्ते झरना पनि छ। राजारानी जाने बाटो हुँदै तीन किलोमिटर परतिर गएर थुम्की–नाम्जे होमस्टेमा बसेर हुर्रा नाचमा रमाइलो गर्न पनि पाइन्छ। त्यहाँ आत्मघर भन्ने एउटा चर्चित स्थान पनि छ।
रारा
मुगु जिल्लामा रहेको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो रारा। मुगु सदरमुकाम गमगढीबाट तीन घन्टाको पैदलयात्रापछि पुगिने रारा ताल समुद्र सतहदेखि २ हजार ९७२ मिटर उचाइमा अवस्थित छ।
दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल जेठदेखि आश्विन महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्छ। रारा तालबाट सैपाल हिमालको शृंखलाको मनोरम अवलोकन गर्न सकिन्छ। यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनुका साथै अन्यत्र कहीँ नपाइने ‘असल’ जातको माछा पाइन्छ।
प्रकृतिको उपहारका रूपमा सिर्जित रारा ताल रारा राष्ट्रिय निकुञ्जमा पर्छ। रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मनोरम हरियाली, यसमा पाइने कस्तुरी, रतुवाजस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुंगीले समेत यस क्षेत्रको शोभा बढाएका छन्। यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।