काठमाडौं । नेपालको आतिथ्य क्षेत्रका लुब्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल ट्युलिपले काठमाडौंको बूढानीलकण्ठमा रिसोर्ट स्थापना गर्ने भएको छ। रिसोर्ट स्थापना घोषणसँगै रोयल ट्युलिपले नेपाली बजार प्रवेश गर्ने भएको हो।
यो परियोजना क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको हो भने दक्षिण एसियामा सरोवर होटल्सले व्यवस्थापन गर्नेछ। यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप महत्त्वपूर्ण बनाउने दिशामा ठूलो योगदान दिने कम्पनीको विश्वास छ।
परियोजनाको नेतृत्व मुकुन्दराज कुँवर, अध्यक्ष र आशीष ढकाल, निर्देशक तथा ग्लोबल इक्विटी फन्ड लिमिटेडका सह–संस्थापकले गरेका छन्।
बूढानीलकण्ठको शान्त वातावरणमा अवस्थित यो लक्जरी रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ३० मिनेटको यात्रामा पुग्न सकिनेछ।
२६ रोपनी जमिनमा फैलिएको यो रिसोर्टले ७५ विस्तारित कोठा, आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको छ। रिसोर्टमा ५०० पाहुनालाई सेवा दिने बैंक्वेट हल, विश्वस्तरीय स्पा, स्टीम रुम, निजी जकुजी र अन्य वेलनेस सुविधा उपलब्ध हुनेछ।
सम्झौता कार्यक्रममा सारोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले नेपालको लक्जरी बजारमा ब्रान्ड प्रवेशप्रति उत्साह व्यक्त गरे। भारत, अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, र बेलायतमा ४५ वर्षभन्दा बढीको अनुभव सँगालेका बाकायाले सारोवर होटल्सको उल्लेखनीय वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको कार्यक्रममा जानकारी दिइयो।
उनले भने, ‘नेपाल भारतीय र अन्तर्राष्ट्रिय पर्यटकका लागि बढ्दो आकर्षण गन्तव्य बन्दै छ। नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरले पाहुनाका लागि अद्वितीय पृष्ठभूमि उपलब्ध गराउनेछ भने रोयल ट्युलिपले वास्तविकतामा लक्जरी र अविस्मरणीय अनुभव दिनेछ।’
१८० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको यो रिसोर्टले पाहुनालाई आरामदायी र विलासी अनुभव सिर्जना गर्नेछ। रोयल ट्युलिप सारोवर होटल्सको औपचारिक हस्ताक्षर असोज ८ मा नयाँ दिल्लीमा हुने परियोजनाका अध्यक्ष कुँवरले बताए।