काठमाडौं। सेयर बजारमा ५९ अंकको गिरावट आएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.०२ अंक अर्थात् २.२८ प्रतिशतले घटेर २५२९.३३ बिन्दुमा बन्द भएको छ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेपनि सोमबार सो बढावटले निरन्तरता पाएन। आइतबार अघिका तीन कारोबार दिन पनि नेप्सेमा लगातार गिरावट आएको थियो। सोमबार नेप्से सूचक घटेपनि कारोबार रकम भने बढेको छ।
सोमबार नेप्सेमा कुल ५ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ। सोमबार फाइनान्स समूहको सेयर मूल्यमा सर्वाधिक अर्थात् ५.५६ प्रतिशतको गिरावट आएको छ।
सोमबार बैंकिङ समूहको सेयर मूल्यमा १.२७ प्रतिशत, विकास बैंक समूहमा २.४६ प्रतिशत, होटल तथा पर्यटन समूहमा ३.३४ प्रतिशत र जलविद्युत समूहमा २.८९ प्रतिशतको गिरावट आएको छ।
यस्तै, लगानी समूहको सेयर मूल्यमा २.७३ प्रतिशत, जीवन बिमा समूहमा २.३५ प्रतिशत, उत्पादन समूहमा १.८१ प्रतिशत, लघुवित्त समूहमा २.५६ प्रतिशत र निर्जीवन बिमा समूहमा २.६९ प्रतिशतको गिरावट आएको छ।
सोमबार हिमालयन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक अर्थात् ९.८४ प्रतिशतले बढ्दा एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.१२ प्रतिशतले बढेको छ।
सोमबार अधिकांश कम्पनीले गुमाउँदा चार कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ। गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईएसी एसिया फ्लेक्स र इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ८.५७ प्रतिशतले घटेको छ।