काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन्। उनले जनताले अनुभूति गर्ने गरि परिणाममुखी भएर काम गर्नुपर्नेमा जोड दिए।
उनले शहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरुसँग समन्वय गरि काममा द्रूतता दिनुपर्ने बताए। ‘कुन आयोजनाको अवस्था के छ? समस्या के छ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो। टिम वर्कका रुपमा अघि बढेर परिणाम दिनुपर्यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस्।’ सो क्रममा उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरी आउने दिनमा प्रभावकारी रुपमा काम गर्न पनि उनले आग्रह गरे।
कार्यालय प्रमुखले भइरहेका कामको प्रगती विवरण र काममा भोग्नुपरेका चुनौति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए। छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, विभागका प्रमुख र आयोजना प्रमुखलाई नतिजामुखी हुने गरि काममा लाग्न आग्रह गरे।
छलफलमा सहरी विकास तथा भवन निर्माण विभाग, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, स्थानीय पूर्वाधार विभाग, राष्ट्रिय आवास कम्पनी, संघीय सचिवालय निर्माण तथा व्यवस्थापनलगायत मन्त्रालय मातहतका विभागका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए।