काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ कम्पनीले हालसम्म सेयरधनीका लागि लाभांश तथा बोनस सेयर घोषणा गरेका छन्।
बिमा कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने अन्य कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट लाभांश घोषणा गरेका छन्। हालसम्म घोषणा भएको लाभांश स्थिति हेर्दा अधिकांश कम्पनीले घोषणा गरेको लाभांश दर अघिल्लो वर्ष हाराहारीकै देखिन्छ।
अधिकांश कम्पनीले १०, १२ र १५ प्रतिशत हाराहारीमा लाभांश वितवरण गर्ने घोषणा गरेका छन् जुन गत वर्ष सोही स्थितिमा थियो। यद्यपि, नेपाल ल्युब आयलले भने सेयरधनीलाई गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत गरी २५ लाभांश दिने घोषणा गरेको छ, जुन हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्येकै उच्च हो।
कुनैपनि कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश सो संस्थाको साधारणसभाबाट पारित भएपछि उक्त घोषित लाभांश वितरण हुने गर्दछ। साधारणसभाबाट पारित भएपछि लगानीकर्ताको बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा जाने गर्दछ। लाभांश घोषणा गरेका अधिकांश कम्पनीको साधारणसभा हुन बाँकी रहेकाले सेयरधनीको खातामा घोषित लाभांश र बोनस सेयर दसैं पछाडि मात्रै जाने देखिन्छ।
हाथवे इन्भेष्टमेन्टद्वारा १० प्रतिशत लाभांश घोषणा
हाथवे इन्भेष्टमेन्ट नेपालले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१÷८१ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई उक्त लाभांश दिने घोषणा गरेको हो। कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २८ करोड ७० लाख रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। अघिल्लो वर्ष पनि कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश दिने
कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २८ करोड ११ लाख ६५ हजार रूपैयाँ रहेको छ।
सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। अघिल्लो वर्ष बैंकले ४.४१ प्रतिशत बोनस र ०.२३ प्रतिशत नगद गरी कुल ४.६४ प्रतिशत लाभांश दिएको थियो।
सानिमा रिलायन्सको १८ प्रतिशत बोनस सेयर
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १८.३८११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीलाई १८.३८११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी चार अर्ब १८ करोड ४० लाख रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
सिइडिबी हाइड्रोपावरद्वारा ११ प्रतिशत लाभांश घोषणा
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सिएचडिसी)ले ११ प्रतिशत बोनस सेयर र त्यसपछि हुने चुक्ता पुँजीको आधारमा ५४.५ प्रतिशत (एक बराबर ०.५४५ अनुपातमा) हकप्रद सेयर दिने घोषणा गरेको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले असोज २१ गते वार्षिक साधारण सभा मिति तय गर्दै उक्त निर्णय गरेको हो। असोज ७ गते कम्पनीले बुक क्लोजको मिति तोकेको छ। असोज ६ गतेसम्म सेयर स्वामित्व हुनेले मात्रै कम्पनीले दिने बोनस सेयर प्राप्त गर्नेछन्।
ओरियन्टल होटलको ५ प्रतिशत बोनस सेयर
ओरियन्टल होटलले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। साथै, कम्पीले कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिनेपनि छ। होटलले असोज तेस्रो साताका लागि साधारणसभा बोलाएको छ भने असोज ७ गते बुक क्लोजको मिति तय गरेको थियो। असोज ६ गतेसम्म सेयर होल्ड वा खरिद गरेकाले लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन्।
नेपाल ल्युब आयलको २५ प्रतिशत लाभांश
नेपाल ल्युब आयलको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीले सञ्चालक समितिको प्रस्ताव पारित गर्न असोज १८ मा साधारणसभा बोलाएको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ४ गतेबाटै बुक क्लोज गरिसकेको छ।
गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश
गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्तापुँजी १० करोड १४ लाख रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। गत वर्ष भने कम्पनीले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो।
भगवती हाइड्रोपावरको लाभांश
भगवती हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १४.७३६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो, यसमध्ये ४ प्रतिशत बोनस सेयर र बाँकी १०.७३६८ प्रतिशत नगद लाभांश रहेको छ। असोज १६ गते साधारणसभा बोलाएको कम्पनीले असोज २ गतेसम्म बुक क्लोजको मिति तय गरेको थियो।
माण्डु हाइड्रोपावरद्वारा १२ प्रतिशत लाभांश घोषणा
माण्डु हाइड्रोपावर कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०÷०८१ को नाफाबाट १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
कम्पनीले असोज १४ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ भने सभा प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ। भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन्। कम्पनीले यसअघिको वर्ष पनि १० प्रतिशत नगद लाभांश दिएको थियो।
एभरेष्ट बैंकको लाभांश
एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकको गत आर्थिक वर्षमा लाभांश क्षमता भने २९.८६ प्रतिशत देखिएको थियो। हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रहेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ पुग्नेछ।
सुपरमाई हाइड्रोपावरको लाभांश
सुपरमाई हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि सेयर बोनस र नगद लाभांश घोषणा गरेको छ। कम्पनी १०८ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको यस कम्पनीले ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले बोनस सेयर दिएपछि हुने चुक्ता पुँजीको आधारमा सात प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ।
कम्पनीले सुरुमा १७ प्रतिशत हकप्रद दिने उल्लेख गरेपनि बोनसबाट चुक्ता पुँजीमा केही रकम थपिने भएपछि हकप्रद घटाएर बोनस घोषणा गरेको हो। कम्पनीको लाभांश र हकप्रद प्रस्ताव असोज २३ गते हुने साधारण सभामा प्रस्तुत हुनेछ।
अपि पावरको लाभांश घोषणा
अपि कम्पनीले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले यसअघिको वर्ष पनि सेयरधनीलाई ७.५० प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो।
साहस ऊर्जाको ८.४२१ प्रतिशत लाभांश
साहस ऊर्जा लिमिटेडले सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद गरी ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ। लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ।
साथै, असोज १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ७८ करोडको १ बराबर १ अनुपातमा हकप्रद सेयर पनि निष्कासन पनि गर्ने जनाएको छ।
आशा लघुवित्तले १५ प्रतिशत लाभांश
आशा लघुवित्तले सेयरधनीका लागि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
यसअघि पनि कम्पनीले कुल १५ प्रतिशत नै लाभांश दिएको यस वर्ष पनि सोही मात्रामा लाभांश दिन लागेको हो। उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति गरी आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।