न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागीता थियो।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको सञ्चारकर्मीलाई बताए। भेटमा सहभागी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन्।
दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी थिए।
प्रधानमन्त्री ओलीको आजै कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग पनि भेटवार्ता भएको छ।
उनीहरूबीच राष्ट्रसंघका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
यस्तै आजै नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ।
प्रधानमन्त्री ओली र मित्रराष्ट्र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भएको भेटमा दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो। नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा भूटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गरेका थिए।
उनले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताएका थिए।
त्यसैगरी प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गरेका छन्।
भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उच्चायुक्त भोल्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने उल्लेख गरेका थिए।
यस्तै भोल्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गरेका थिए।
प्रधानमन्त्री ओलीले विश्वमा मानव जातिको रक्षाका लागि जलवायु न्यायका मामिलालाई उत्तिकै र सामरिक महत्व दिनुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गरेका छन्।
समिट अफ द फ्युचरको उद'घाटनमा भाग लिएपछि प्रधानमन्त्री ओलीले छलफल सत्रको अध्यक्षता गरेका हुन्। प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम छ।