काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले ६ महिनामा साढे ३ लाख बढी ग्राहक गुमाएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्टअनुसार २०८० पुससम्ममा फिक्स्ड ब्रोडब्याण्ड आईएसपीको ग्राहक संख्या कुल ३१ लाख ६९ हजार ९४० थियो। तर, २०८१ असारसम्म आइपुग्दा ३ लाख ५२ हजार ४३१ ले घटेर २८ लाख १७ हजार ५०९ मा सीमित भएको छ।
दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार उक्त ६ महिना अवधिमा साढे ३ लाखले आईएसपी सेवा त्याग्दा क्लासिक टेक कम्पनी एक्लैले मात्रै १ लाख ३५ हजार ८९० ग्राहक गुमाएको छ। २०८० पुसदेखि २०८१ असारसम्ममा वल्र्डलिंक कम्युनिकेसनले सबैभन्दा बढी ५३ हजार ७२० नयाँ ग्राहक थप गरेको छ। ८ लाख ६५ हजार ग्राहक रहेको वल्र्डलिंकले यस अवधिमा ५३ हजार बढी ग्राहक थप्दै आफ्नो ग्राहक संख्या ९ लाख १८ हजार ७३३ पुर्याएको छ। यो सबै सेवा प्रदायकको भन्दा बढी हो।
६ महिनामा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले ३३ हजार ९६४ ग्राहक थप्दै ग्राहक संख्या ३ लाख १३ हजार ५४५ पुर्याएको छ भने वेबसफर नेपालले १४ हजार ६१८ ग्राहक थप्दै १ लाख ३९ हजार ११८ पुर्याएको छ। यस अवधिमा सिजी कम्युनिकेसनले ९ हजार ९४८ ग्राहक थप गरेको छ। फाइबरवल्र्ड कम्युनिकेसनका १ हजार ४६३ ग्राहक थपिएका छन्।
२०८० पुससम्म २ लाख ९९ हजार ०५० ग्राहक रहेको क्लासिक टेक ६ महिनामा १ लाख ३५ हजार ग्राहक गुमाउँदै २०८१ असारसम्ममा १ लाख ६३ हजार १६० ग्राहकमा सीमित भएको छ। यस अवधिमा सुबिसुले ४१ हजार ४०२, डिस मिडिया नेटवर्क (डिसहोम)ले २५ हजार २२८, भायानेट कम्युनिकेसनले ९८ हजार २७८ र टेकमाइन्ड्सले ६६ हजार ५६५ ग्राहक गुमाएका छन्।
यस्तो छ सेवा प्रदायकहरूको २०८० पुससम्म र २०८१ असारसम्मको ग्राहक तथा थपघट संख्या
६ महिनामा साढे ३ लाख बढीले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको सेवा त्याग्दै गर्दा असार महिनामा मात्रै करिब ९१ हजार बढी ग्राहकले सेवा त्यागेको दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ। २०८१ जेठ महिनासम्म २९ लाख ८ हजार ३०८ आईएसपी ग्राहक रहेकोमा २०८१ असारसम्मको एक महिना अवधिमा ९० हजार ७९९ ले घटेर कुल ग्राहक संख्या २८ लाख १७ हजार ५०९ मा आइपुगेको देखिन्छ।
जेठदेखि असारसम्मको एक महिनामा डिशहोमले ७ हजार ४६८, वर्ल्डलिंकले ६ हजार ४३७ र नेपाल टेलिकमका १ हजार ३१७ ग्राहक थप गरेका छन्। यस अवधिमा क्लासिक टेकले सबैभन्दा बढी ग्राहक गुमाएको छ। जेठसम्म ३ लाख ८ हजार ८५५ ग्राहक रहेको क्लासिक टेकको ग्राहक संख्या असारमा घटेर १ लाख ६३ हजार १६० मा झरेका तथ्यांक प्राधिकरणसँग छ। २०८१ जेठसम्म २ लाख ९७ हजार ३१२ रहेको सुबिसुको ग्राहक संख्या असारमा घटेर २ लाख ५० हजार ३१३ मा सीमित भएको छ।
वास्तवमै यति धेरै ग्राहक घटेका हुन्?
दूरसञ्चार प्राधिकरणको यो तथ्यांक हेर्दा एकैपटक धेरै ग्राहकले इन्टरनेट सेवा प्रदायकको सेवा लिन बन्द गरेको जस्तो देखिन्छ। साथै, एउटै कम्पनीले छ महिनामै डेढ लाख ग्राहक गुमाएको विषय आफैँमा अपत्यारिलो पनि छ। तर, ३ महिनासम्म नवीकरण नगरे ग्राहकसूचीबाट हट्ने प्रावधानका कारण यति धेरै ग्राहक संख्या घटेको देखिएको प्राधिकरण बताउँछन्।
यसअघि कुनै सेवा प्रदायकको सर्भिस एक ग्राहकले लिएपछि सो व्यक्ति सधैँका लागि सो कम्पनीको ग्राहकको रूपमा गणना गरिन्थ्यो। तर, हाल भने प्राधिकरणले तीन महिनासम्म सेवा नवीकरण नगरेका सम्पूर्ण व्यक्तिलाई आफ्नो ग्राहक सूचीबाट हटाउनुपर्ने प्रावधान ल्याएको छ। प्राधिकरणको यही प्रावधानअनुसार सेवा प्रदायकले तीन महिना वा सो भन्दा बढी समयदेखि सेवा नवीकरण नगरेकालाई ग्राहक सूचीबाट हटाउँदा यति धेरै ग्राहकसंख्या घटेको देखिएको हो।
‘अहिले सक्रिय र नवीकरण गरिरहेका प्रयोगकर्तालाई मात्रै सेवा प्रदायकले आफ्नो ग्राहकको रूपमा गणना गर्न पाउने व्यवस्था छ। तीन महिनासम्म शुल्क तिरेर नवीकरण नगरेका व्यक्तिलाई कम्पनीले ग्राहक सूचीबाट हटाउनुपर्ने हुन्छ,’ दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलले भने, ‘यही कारण हाल धेरै कम्पनीको ठुलो संख्यामा ग्राहक घटेको देखिएको हो।’ उनले यसअघि एक पटक सेवा लिएको व्यक्तिलाई सधैँ ग्राहक सूचीमा राख्दै आएको भए पनि हाल त्यस्तो गर्न नपाइने र सक्रिय प्रयोगकर्तालाई मात्रै ग्राहक सूचीमा राख्न पाउने गरिएको जानकारी दिए।
सेवा प्रदायकले पहिला आफ्नो सेवा लिएर तीन महिनादेखि नवीकरण नगरेका व्यक्तिलाई ग्राहक सूचीबाट हटाउँदा ग्राहकसंख्या घटेको देखिएको हो। यद्यपि, आर्थिक मन्दीका कारण पनि केही संख्यामा सेवा प्रदायकका ग्राहक भने घटेका छन्। अहिले उपत्यकामा मात्रै धेरै सटर बन्द छन्, जुन सटर पहिला सञ्चालनमा हुँदा इन्टरनेट जडान गरिएको हुन्थ्यो। तर, हाल ती सटर बन्द भएपछि त्यहाँ सञ्चालन हुने इन्टरनेट सेवा पनि हटाइएको छ। यही कारण पनि ग्राहक संख्यामा केही कमी भएको बताइन्छ।
हाल दूरसञ्चार प्राधिकरणको २०८१ असारसम्मको तथ्यांकअनुसार वल्र्डलिंकको ९ लाख १८ हजार ७३३, डिस मिडिया नेटवर्कको ३ लाख १९ हजार ६९६, नेपाल टेलिकमको ३ लाख १३ हजार ५४५, सुबिसुको २ लाख ५० हजार ३१३ र भायानेटको २ लाख ७ हजार ७६७ ग्राहक रहेका छन्। क्लासिक टेक कम्युनिकेसनको १ लाख ६३ हजार १६०, वेबसफर नेपालको १ लाख ३९ हजार ११८, टेकमाइन्ड्सको ८० हजार ९०४ र सिजी कम्युनिकेसनको ७७ हजार १०२ ग्राहक रहेका छन्।
यस्तै, फाइबर वल्र्ड कम्युनिकेसनको ४६ हजार ८५०, ब्रोडलिंक नेटवर्कको ४१ हजार २१२, वाईफाई नेपालको ३६ हजार २०२, कोनेक्ट नेपालको १८ हजार ६३५, एरोनेटको १६ हजार ६५८ ग्राहक रहेको तथ्यांक छ। प्राधिकरणको तथ्यांकअनुसार फस्र्टलिंक कम्युनिकेसनको १५ हजार ९९७, चित्रवान युनिकको १२ हजार ३८९, सजिलोको १० हजार २१३, पोखरा इन्टरनेटको ९ हजार ६९९ र एभरेस्ट वायरलेस नेटवर्ककको ७ हजार २३६ ग्राहक रहेका छन्।