काठमाडौं । सहकारी संस्थाको रकम अपचलन सम्बन्धि प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिएको छ। आइतबार गृहमन्त्री रमेश लेखकले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
यसअघि मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो। यसअघि मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो।
मन्त्रिषरिषद्को निर्णयअनुरुप प्रतिवेदन कार्यान्वयनका लागि लेखकले निर्देशन दिएका हुन्।
प्रहरीलाई अब छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। यसअघि कहिँकतै कारबाही प्रक्रिया रोकिएको भए अब प्रक्रिया अघि नबढेको खण्डमा कारबाहीको भागिदार स्वयं प्रहरी प्रमुख हुनुपर्ने अवस्था आउँछ।
प्रतिवेदनले सहकारी क्षेत्रमा भएका विभिन्न किसिमका घटनालाई समेटेर दोषीहरूको सूची नै सार्वजनिक गरेको छ। प्रतिवेदनले औंल्याएका दोषीमध्ये अझै २९ जना प्रहरीको फरार सूचीमा छन्।
उता प्रतिवेदन बनाउने क्रममा बयान दिएकाहरूले विभिन्न सहकारीको रकम दुरुपयोगमा पूर्व उपप्रधान तथा गृह मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समेत संलग्नता रहेको बताएका छन्। यद्यपि लामिछानेले भने विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकममा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्।
अब प्रहरीले आफ्नै तालुकदार पूर्वमन्त्रीलाई अनुसन्धानको घेरामा हाल्छ कि हाल्दैन हेर्न बाँकी छ। त्यसो त प्रतिवेदनले नै लामिछानेले सहकारीबाट सिधै गोरखा मिडियामा रकम नभित्र्याए पनि प्रबन्ध सञ्चालकको हैसियतले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाही सिफारिस गरेको छ।