काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारप्रति देखाएको चासोको औचित्य पुष्टि गर्ने प्रयत्न बजारले गरेको छ। पछिल्लो ११ कारोबार दिनमा एक दिनबाहेक सबै कारोबार दिन घटेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार सकरात्मक बन्दै अर्थमन्त्री पौडेलले देखाएको चासोको औचित्य पुष्टि गर्ने ढंगमा प्रस्तुत भएको हो।
गत साताको अन्तिम कारोबार दिन बुधबार नेप्से पुगेर अर्थमन्त्रीले ३००० पुगेको बजार २५०० झरेको भन्दै चासो व्यक्त गरेका थिए। साथै, पौडेलले दैनिक करिब ३० अर्बसम्म कारोबार भएकोबाट हाल ६ अर्बमा सीमित भएको भन्दै चासो राखेका थिए। अर्थमन्त्रीले गत साता देखाएको उक्त चासोलाई औचित्यपूर्ण पुष्टि गर्नका लागि नै आइतबार बजार सकरात्मक बनाइएको जस्तो देखिएको छ।
साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा बन्द भएको छ। आइतबार ११ बजेर ५ मिनेटमा २६४३.५१ बिन्दुसम्म पुगेको बजार त्यसपछि घटेर २ बजेर २५ मिनेटमा २५७०.२७ बिन्दुम्म खुम्चिएको थियो। तर, बन्द हुने समयमा भने केही सकरात्मक बन्दै बजार २५८८ बिन्दुमा रोकिएको हो।
भदौ २७ गते बिहीबार ७८.३१ अंकले बढेर २६८८.५३ बिन्दुमा बन्द भएको नेप्से गत साताको तीन कारोबार दिनमा तीनै दिन घटेर १११ अंकको गिरावटका साथ अन्तिम कारोबार दिन बुधबार २५७६.७६ बिन्दुमा बन्द भएको थियो। भदौ २७ अगाडिका ६ कारोबार दिन पनि लगातार गिरावट देखिएको नेप्सेमा अर्थमन्त्रीको चासोपछि आइतबार भने केही सकरात्मकता देखिएको हो।
आइतबार नेप्से सूचक सकरात्मक बनेपनि कारोबार रकममा भने गिरावट आएको छ। आज नेप्सेमा कुल ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये १३८ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आइतबार इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र उपर स्यांगे हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, रवा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक अर्थात् ८.६५ प्रतिशतले घटेको छ।