काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी, डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धिजस्ता प्राकृतिक प्रकोप बढिरहेका बेला भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाले तिनको सामना गर्न शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाललगायतका संस्थाले आज राजधानीमा संयुक्त रूपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा ‘समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदा’को भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्वतयारी, न्यूनीकरण र अनुकूलनका रणनीति विकास गर्न सकिने बताए। उनले बाढीको अवस्थाबारे आदिवासी ज्ञानलाई भू–उपग्रह प्रविधिसँग जोडेर ‘सटिक’ रूपमा पूर्वसूचना प्रदान गर्न सकिने बताए।
मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभई वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह वृद्धिजस्ता प्रकोप झेल्नु परिरहेको र संवेदनशील क्षेत्रका समुदाय यी जोखिमको अग्रभागमा रहेको बताए।
मन्त्री पाण्डेले भने, ‘यसले हामीलाई संसारलाई कसरी हेरिरहेका छौँ, प्रकृतिसँग कसरी अन्तरक्रिया गरिरेका छौँ र सङ्कटमा हामी कसरी प्रतिक्रिया दिन्छौँ भन्ने कुरा निर्धारण गर्ने छ, प्रकोप र जलवायु परिवर्तनका सन्दर्भमा यी सम्पदा हाम्रा लागि अझ बढी मूल्यवान् छन्।’
उनले संसारभरका मानिसले आफ्नो वातावरणमा अनुकूलन गर्नका लागि शताब्दीयौँदेखि जटिल ज्ञान र अभ्यासका प्रणाली विकास गरेको उल्लेख गर्दै कृषि कर्मका बेला गरिने पूजापाठ वा अनुष्ठान तथा प्रकृतिको चक्रसँग तालमेल गरी बाली लगाउने परम्परा यसको उदाहरण रहेको बताए।
सांस्कृतिक सम्पदामा यस्ता प्रकोपसँग कसरी अनुकूलन गर्न सकिन्छ भन्ने ज्ञानको भण्डार रहेको र यस्ता ज्ञानले सङ्कटका समयमा जीवित रहन महत्त्वपूर्ण भूमिका खेल्न उल्लेख गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरहरूको सामना गर्न यी अभ्यास आवश्यक रहेको कुरामा जोड दिए।
मन्त्री पाण्डेले जापानमा प्राकृतिक प्रकोपपछि परम्परागत काठका संरचनाको वार्षिक पुनर्निर्माण गर्ने परम्पराको उदाहरण प्रस्तुत गर्दै यी कुरा केबल संरक्षणको विषय मात्र नभएर समुदायको एकजुट हुन र एक अर्कासँग तथा आफ्नो वातावरणसँगको सम्बन्धलाई पुनः पुष्टि गर्ने तरिका भएको बताए।
यस्तै अफ्रिकामा, परम्परागत सङ्गीत र कथा वाचनले प्रकोपका बेला हुने आघात तथा क्षतिको सामना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै पूर्वीय सभ्यतामा कथा भन्नु इतिहास र ज्ञानको हस्तान्तरणको एक हिस्सा भएको उल्लेख गरे।