काठमाडौं । असार १६ गते २०३७.०९ बिन्दुमा रहेको सेयर बजार निरन्तर सात हप्तासम्म ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा चढ्यो। तर, भदौ लागेसँगै घट्न थालेको बजार असोज २ गते २५७६.७६ बिन्दुमा रोकियो। बुधबार निकै ठूलो रफ्तारले घट्ने अनुमान गरिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ अंकले मात्रै घट्न पुग्यो।
सेयर बजार निरन्तर घटेर सरकारको आलोचना हुनु थालेसँगै बुधबार मध्यान्ह उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेप्से कार्यालय पुगे। कारोबार समयमै राजस्व सचिव दिनेश घिमिरे, नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालसहित नेप्से कार्यालय पुगेका अर्थमन्त्री पौडेलले सेयर बजार निरन्तर घटेको प्रति चासो राखेका थिए। त्यसअवसरमा पौडेलले बजार घटाउने सम्बन्धमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका विभिन्न विषय बारे चासो मात्रै राख्ने, ३००० पुगेको नेप्से किन २५०० भन्न समेत भ्याए।
नयाँ सरकार बन्ने चर्चासँगै बढ्न सुरु गरेको नेप्से अर्थमन्त्रीमा पौडेलको आगमनले थप हौसिएको थियो। तर, सरकारमा आएको दुई महिना बढी हुँदा पनि नीतिगत सुधारको काम भने केही भएको छैन। विगतमा बजार बढ्दा आफ्नो सफलता भनेर व्याख्या गरेको वर्तमान सरकारले घट्दा भने जिम्मेवारी लिएको छैन।
सेयर लगानीकर्ता छोटेलाल रौनियार अर्थमन्त्री नेप्से कार्यालय पुग्नुलाई सेयर बजारको घटाइप्रति सरकार चिन्तित देखिएको रूपमा बुझ्छन्। ‘सेयर बजारका लागि समग्र अवस्था सकारात्मक रहेकाले बजार बढ्ने नै देखिन्छ,’ रौनियार भन्छन्, ‘तर, चाडपर्व लगायतका कारण नेप्सेमा सुस्तता देखिएको छ। लय पक्रिएको बजार धरमराएपछि पुनः लयमा फर्कन केही कठिन हुन्छ। अन्यथा बजार सकारात्मक नै छ।’
त्यसो त यसबीचमा नेप्से मात्र होइन निरन्तर कारोबार रकम पनि खुम्चिँदै गएको छ। गत साउन ३१ गते २९ अर्ब ३० करोड रुपैयाँसम्मको सेयर किनबेच भएको बजारमा पछिल्लो समय ५/६ अर्बमा सीमित भएको छ। गत बुधबार ५ अर्ब ५४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। नेप्से सूचक र कारोबार रकममा छाएको सुस्तताको अवस्थालाई कतिपयले भने नाफा कमाउने अवसरको रूपमा व्याख्या गरिरहेका छन्।
सेयर लगानीकर्ता केशव कोइराला अहिले सेयर खरिद गर्नेले तिहारपछि राम्रो नाफा बुक गर्ने अवसर पाउन सक्ने बताउँछन्। ‘बजार हिजोका दिनमा ३ हजार बिन्दुसम्म जुन गतिमा उचालियो त्यसरी बढाउनु हुँदैन थियो। फेरि, बढाइसके पछि यसरी घटाइनु हुँदैन थियो,’ कोइराला भन्छन्, ‘हालको घटाइ सरकारलाई अति भएको हो कि भन्ने लागेर अर्थमन्त्री नेप्से कार्यालयमै पुगेको देखिन्छ। यद्यपि, अहिले सेयर खरिद गर्नेले तिहारपछि राम्रो नाफा बुक गर्ने सम्भावना छ।’
ठूला चाडपर्व दसैं र तिहार नजिकिँदै गएकाले कतिपय सेयर लगानीकर्ता विभिन्न नारा लगाएर बजार घटाउन लागिपरेको बताउनेहरूको पनि कमी छैन। विगतमा पनि चाडपर्वको समयमा सेयर बजार नबढेको अवस्था रहेकाले अहिले पनि बजार बढ्ने सम्भावना नभएको भनाई उनीहरूको छ। यद्यपि ठूला लगानीकर्तालाई दसैं तिहार मनाउन सेयर नै बिक्री गर्नुपर्ने बाध्यता भने नहुन सक्छ। तर, बजार घटाई सेयर खरिद गर्न चाहनेहरूले अहिलेको अवसरलाई मौकाका रूपमा प्रयोग गरिरहेको कतिपय लगानीकर्ताको बुझाई छ।
नेप्से कार्यालयमा पुगेका अर्थमन्त्री पौडेलले पुँजी बजारको दिगो विकासका लागि सबै पक्षले काम गर्नुपर्ने बताउँछन्। सरकार आर्थिक सुधारको काममा लागेको बताइरहने अर्थमन्त्री पौडेल सेयर बजारलाई कसैको लहैलहैमा नभई स्वतन्त्र रूपले चल्न दिनुपर्ने बताउँछन्।