विगत १० वर्षदेखि कसैलाई सर्वोत्कृष्ट कर्मचारीको सम्मान दिन लायक नदेखेको सरकारले यसपटक पनि सोही प्रवृत्ति दोहोर्यायो। निजामती कर्मचारीको मनोबल बढाउन घोषणा गरिने सर्वोत्कृष्ट कर्मचारीको पदवी दिन यस पटक पनि सरकारले कसैलाई उचित ठानेन। खासगरी सबै कर्मचारी खराब हुन्छन् भन्ने समाजमा बनेको गलत भाष्यलाई सरकारले पनि चिर्न नचाहेको हो कि जस्तो देखियो। यद्यपि, सरकारले हरेक वर्ष भदौ २२ मा सर्वोष्कृष्ट, उत्कृष्ट र निजामती सेवा गरी ३ चरणमा दिने पुरस्कारलाई निरन्तरता दियो।
सरकारले विगत वर्षजस्तै यस वर्ष पनि उत्कृष्ट १० र निजामती सेवा पुरस्कारका लागि ३० गरी जम्मा ४० जनाको नाम अगाडि सार्यो। २०८१ को उत्कृष्ट १० निजामती कर्मचारीभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव चुडाराज न्यौपानेको नाम पनि पर्यो। कतिपय व्यक्तिका लागि उत्कृष्ट १० निजामती कर्मचारीको सूचीमा नाम पर्नु सामान्यजस्तै लाग्न सक्छ। तर, जीवनको महत्वपूर्ण दशक इमानदारीसाथ बिताएका व्यक्तिका लागि सफलता र गर्वानुभूति क्षणको अनुभुति न्यौपानेले गर्न पाए।
न्यौपाने २०५९ फागुन ६ बाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए। २०३० जेठ १६ मा बुबा कृष्णप्रसाद र आमा ऋषिकुमारी न्यौपानेको जेठो छोराको रुपमा दोलखाको भीमेश्वर नगरपालिका माटीमा जन्मिएका न्यौपानेको जीवन संघर्षपूर्ण रह्यो। पहिलो श्रीमतीबाट ७ वटा छोरी जन्मिदा पनि छोरा नभएपछि चुडाराजका वुबाले अर्को विवाह गरेका थिए जसको कोखबाट उनी जेठो छोराको रुपमा जन्मिएका हुन्। आमा ऋषिकुमारीबाट पनि दुई छोरी जन्मिएपछि मात्रै चुडाराजको जन्म भएको थियो, जसको हाल एक जना भाइ र एक बहिनी पनि छन्।
भनिन्छ, ‘लेखिएको ठाउँ र कर्ममा मानिसलाई भाग्यले डोहोर्याउँदै पुर्याउँछ’। नभन्दै अनेकन प्रयत्न गर्दै चुडाराज निजामती सेवामा आए र उत्कृष्ट कर्मचारीकाे पुरस्कारबाट समेत सम्मानित हुन सके। २०४५ मा चरिकोटबाट माध्यामिक शिक्षा परीक्षा (एसएलसी) दिएका न्यौपानेमा सानैदेखि कानुन पढ्ने रहर थियो। तर, बुबाले धेरै छोरी पछि जन्मिएको छोरालाई घरबाट टाढा पठाउन चाहेनन्। चरिकोटमा कानुनको विषय पढाइ नहुने भएपछि आफूलाई कुन विषय पढ्दा के हुन्छ भन्ने ज्ञान नभई उनी माध्यमिकपछिको अध्ययन गर्न थाले।
चरीकोटबाट आईए गरेपछि भने अध्ययनकै लागि न्यौपाने २०५० सालमा काठमाडौं आएर स्नातक तहको अध्ययन गर्न थाले। ‘काठमाडौं आउँदा यहाँ लाग्ने खर्च नदिने सर्त बुबाको थियो तर मलाई जसरी काठमाडौंमा पढ्नु थियो,’ न्यौपाने सुनाउँछन्, ‘बुबा पण्डित भएकाले काठमाडौंमा घर किनेपछि आफ्नो सबै खर्च आफैं जुटाउनु पथ्र्यो।’ न्यौपानेले काठमाडौं आएपछि आफ्नो जीवन गुजारा गर्न कृषि सम्बन्धी काम गर्ने निकाय ‘नार्क’मा दैनिक ज्यालादारी काम सुरु गरे। नार्कमा काम गर्दै स्नातक पढ्दा बिए प्रथम वर्षमा नै उनी असफल भए।
काम गर्दै पढ्न कठिन भएपछि न्यौपानेले जागिर छोडेर आफू पढ्दै अरुलाई ट्युसन पढाउँदै गर्न थाले। यसपछि २०५२ जेठबाट विश्वविद्यालय अनुदान आयोगमा ज्यालादारी कर्मचारीको रुपमा काम गर्दै पढ्दै गरेर न्यौपानेले २०५५ सालमा वरिष्ठ सहायक पद (नायव सुब्बासरह)मा नाम निकालेर स्थायी जागिरको सुरुवात गरे। सरकारी जागिर खाए पनि त्यो बेलासम्म उनलाई लोकसेवाको विषयमा राम्रो जानकारी थिएन। ‘कोही पनि आफन्त निजामती सेवामा थिएनन्, अहिले पनि विश्वविद्यालय अनुदान आयोगमा बढी हुनुहुन्छ, त्यसैले लोकसेवा पास गर्न गाह्रो हुन्छ भन्ने सुनेको थिएँ। अरु केही थाहा थिएन’ उनी भन्छन्।
साथीको सुझावमा अधिकृतको परीक्षा
विश्वविद्यालय अनुदान आयोगमा हुँदा एक जना सुब्बा साथीले उनलाई शाखा अधिकृतको परीक्षा दिन सुझाए। तर, पास गर्न गाह्रो हुने भ्रम र पारिवारका कोही पनि लोकसेवामा आबद्ध नभएकाले उनलाई रहर र ज्ञान दुवै थिएन। त्यो बेला अहिलेको जस्तो सीधै शाखा अधिकृतको परीक्षा दिन मिल्दैन थियो। प्रवेश परीक्षा (इन्ट्रान्स) पास गरेपछि मात्रै अधिकृतको लिखित परीक्षामा सहभागी हुन मिल्थ्यो। साथीकै सुझावका भरमा अधिकृतको प्रवेश परीक्षा दिए। नाम निस्किन्छ भन्ने विश्वास नभएकाले उनले नतिजासमेत हेरेनन्।
तर, साथीले के भयो रिजल्ट भनेर प्रश्न गर्दा उनले नाम ननिस्किएको बताए। रिजल्ट आएको २ दिनपछि चुडाराजले पुरानो गोरखापत्र हेर्दै थिए, त्यहाँ आफ्नो परीक्षाको नम्बर पाए। अर्थात् उनी शाखा अधिकृतको प्रवेश परीक्षामा उत्तीर्ण भएका रहेछन्। चुडाराजलाई लोकसेवाको किताब किन्ने ठाउँ र इन्स्टिट्युटमा पढाइ हुन्छ भन्ने थाहा थिएन। आफूलाई हौसला दिने साथीको नाम ननिस्किएपछि उसलाई सोधेर झन् खिन्नता बोध गराउन चुडाराजलाई मन लागेन। ‘विश्वविद्यालय आयोगमा जागिर खाएको थिएँ तर लोकसेवाको विषयमा थाहा थिएन,’ उनी भन्छन्, ‘प्रवेश परीक्षामा पास भएपछि अधिकृत हुनुपर्छ भन्ने लाग्यो तर पढ्ने तरिका थाहा भएर कति रात रुँदै बिते।’
यो कठिनालाई झेल्दै पहिलो प्रयासमै २०५९ फागुन ६ बाट निजामती सेवाको शाखा अधिकृतको यात्रा सुरु गर्न न्यौपाने सफल भए। उनलाई सुभाव दिने साथीले पनि पछिल्लो वर्ष अधिकृतमा नाम निकाले। पहिलो पोस्टिङ सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा भयो। उनको २२ वर्षे जागिरे यात्रामा अधिकांश समय सञ्चार मन्त्रालयमै बितेकाे छ।
त्यसबाहेक गृह मन्त्रालय र अख्तियारमा पनि उनले काम गर्ने मौका पाए। २०७१ चैतमा उपसचिव बढुवा भएपछि उनको सरुवा गृह मन्त्रालयमा भयो। बढुवा भएसँगै उनलाई गृह मन्त्रालयले सिराहाको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को जिम्मेवारी दियो। सहायक सिडिओ भएको ६ महिनापछि गृहले काजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटायो।
२०७३ मा उत्कृष्ट अख्तियार पुरस्कार
२०७२ अन्तिमबाट २०७४ सम्म उपसचिव चुडाराजले गृहको दरबन्दी लिएर काजमा अख्तियार बसेर काम गरे। त्यतिबेलै २०७३ मा उनले उत्कृष्ट अख्तियार पुरस्कार पनि पाए। ‘त्यो बेला अख्तियार प्रमुखमा दीप बस्न्यात भर्खरै आउनुभएको थियो, काजमा काम गरेको धेरै भयो, गृह फर्किन्छु भन्न हाकिमकोमा गएको थिएँ।’ उनी भन्छन्, ‘उहाँले रिसाएको भावमा आफू भर्खरै अख्तियार आएकाले सहयोग नगरी जान लागेको भन्नुभयो र म फर्किएँ। पछि थाहा पाएँ, त्यही बेला पुरस्कारका लागि मेरो नाम सिफारिस भएको रहेछ।’
काजमा अख्तियार बसेर पनि उपसचिव न्यौपानेले गृह मन्त्रालय मातहतकै काम हेरिहेका थिए। साथै सिडिओ हुन चाहिने मुख्य दुई योग्यता हुन्छन्। एउटा कानुनमा ब्याचलर इन ल (बिएल) गरेको र अर्को सिडिओका लागि तालिम लिएको। उनले बिएल गरेनन् तर तालिम लिए।
२०७५ वैशाखमा गृह फर्किएर चैतबाट सल्यान जिल्लाको सिडिओ भए। योसँग पनि उनको बाल्यकालका सम्झना जोडिएका छन्। २०४१ सालमा ८ कक्षा पढ्दा उनी दोलखाको जिल्ला स्तरीय प्रवचन (वक्तृत्वकला प्रतियोगिता) मा प्रथम भएका थिए। प्रवचन कार्यक्रममा तत्कालीन दोलखाका सिडिओ केशवराज राजभण्डारी प्रमुख अतिथि थिए। ८ कक्षामा पढ्ने बालकले राम्रो बोलेको देखेर होला सिडिओ राजभण्डारीले चुडाराजलाई काखमा लिएर केही मिनेट सामान्य संवादसमेत गरेका थिए।
भोलिपल्ट बिहान चुडाराज उठ्दा उनको घरभरी गाउँघरका मानिसहरु जम्मा भएका रहेछन्। ‘केही सुम्सुम्याउछन्, कोही सिडिओले काखमा लिएको मान्छे भन्दै मलाई ढोग्छन्। त्यो बेला अरु मेले बुझिनँ तर, सिडिओ भनेको धेरै ठूलो मान्छे रहेछ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘हुन त अहिले पनि जिम्मेवारी र अधिकारका आधारमा महत्वपूर्ण पद हो। पहिला जे बुझेको थिएँ, आफैं सिडिओ हुँदा त्यस्तो होइन रहेछ भन्ने लाग्यो।’ जीवनका यी दैनिकी बिताउने क्रममा २०६३ मा उनको बुबाको निधन भयो। अधिकृत भएको बुबाले देखे पनि छोरो सिडिओ भएको देख्न पाएनन्। अहिले पनि सिडिओ हुँदासम्म बुबा भइदिएको भए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ।
उत्कृष्ट कर्मचारी घोषणाको दिन
उपसचिव न्यौपानेले उत्कृष्ट कर्मचारीमा आफ्नो नाम सिफारिस गर्न अख्तियारको कार्यालयमा कसैलाई भनेका थिएनन्। तर, उनले २०८१ साउन अन्तिमतिर आफूले कुनै पनि गैरकानुनी काम नगरेको तथा दण्ड सजाय नपाएको स्वघोषणाको पत्रमा हस्ताक्षर गरे। उक्त स्वघोषणा पत्र ‘उत्कृष्ट निजामती कर्मचारी सेवा पुरस्कार २०८१’ का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जाने थियो। त्यसपछि उपसचिव चुडाराजले आफूलाई कार्यालयले सिफारिस गरेको थाहा पाए।
‘१००० बढी कर्मचारी भएको अख्तियारबाट नाम सिफारिस हुनुनै मेरो लागि महत्वपूर्ण थियो,’ खुसी साट्दै उनी भन्छन्, ‘सरकारले छनोट नगरेको भए स्वाभाविक रुपमा खल्लो लाग्थ्यो तर दुखी हुँदैन थिए किनकि सिफारिस हुनु भनेको अख्तियारको नजरमा स्वतः म राम्रो कर्मचारी हो।’
यो वर्षको निजामती सेवा दिवस शनिबार परेको थियो। भदौ २२ मा सिंहदरबारभित्र सबै कर्मचारी उपस्थित हुँदै थिए। २१ गते रातीसम्म उत्कृष्ट कर्मचारी छनोटको केही सूचना पाएनन्। उनले २२ गते बिहान उठेर समाचार हेरे तर कतै उनले खोजेको समाचार देखेनन्।
गोरखापत्रमा उक्त सूचना हुने विश्वासका साथ ईपेपर खोल्दा उत्कृष्ट कर्मचारीको सूचीमा उनको नाम थियो। उक्त दिन आमा भाइको घर जानुभएकाले पहिलो खुसी उनले श्रीमतीलाई सुनाए। यसपछि आमालाई फोन गरेर सुनाए। ८० वर्षीया आमाले उत्कृष्ठ कर्मचारीको महत्व सबै नबुझेपनि छोराले राम्रो काम गरिरहेको छ भन्नेसम्म पक्कै बुझिन्। जीवनको उत्तरार्धमा छोराको सम्मानबाट आमा पनि हर्षित छन्।
जिम्मेवारी निर्वाह र इमानदारी
उपसचिव चुडाराज सरकारले आफ्नो यहि कामका कारण सम्मान गरेको भन्न सक्दैनन्। तर, अख्तियारले दिएका केही जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेका थिए। इमानदार भएर काम गरेकाले २०८१ मा पनि उख्तियार पुरस्कारका लागि छनोट भएका थिए।
तर, २०७३ मा पुरस्कार पाइसकेको मान्छेलाई सोही पुरस्कार दोहोर्याउनु उचित नहुने भन्दै उनी पुनः सम्मानित भएनन्। आफ्नो नाम सिफारिस भएर सामान्य प्रशासन मन्त्रालयमा पठाएपछि सिंहदरबार नै नगएको अनुभव उनीसँग छ। पुरस्कारका लागि भनसुन गर्न गएको/आएको सोध्छन् भनेर उनी करिब एक महिना सिंहदरबार नै गएनन्। संयोगवस त्यो बेला कार्यालयको कामले पनि सिंहदरबार जानुपरेन।
किन पाउँदैन सरकारले सर्वोत्कृष्ट कर्मचारी ?
सर्वोष्कृट कर्मचारीका लागि मापदण्ड प्रष्ट नहुँदा छनोट गर्न समस्या भएको हुन सक्ने उनको बुझाइ छ। ‘हुन त हामी कर्मचारीले राज्यले चिन्ने गरी काम गर्न नसकेको होला र यस्तो कर्मचारीलाई सर्वोत्कृष्ट मान्ने भनेर प्रष्ट मापदण्ड नहुँदा राज्यलाई छान्न पनि गाह्रो भएको हुन सक्छ,’ उनी थप्छन्, ‘तर, कर्मचारी अयोग्य हुन् भने कुनै पुरस्कार पाउनु हुँदैन थियो, भएकैमध्येबाट उत्कृष्ट छानिएका हुन् भने सर्वोत्कृष्ट पनि एक जनाले पाउनुपर्ने हो।’
२२ वर्षे यात्राका गुनासा
२२ वर्षे जागिरे यात्रामा उनलाई आफूले गरेका काम र सरकारबाट पाएको सेवासुविधामा गुनासो छैन। यो बीचमा उनी जापान, चीन, अमेरिका, कोरिया, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, बंगलादेशलगायत १० बढी देशमा २० पटक पुगिसके। अन्य देशको तुलनामा नेपालको सरकारी सेवा प्रवाह प्रभावकारी नभएको उनको बुझाइ छ। तर, देश संघीयतामा गएको ९ वर्ष हुँदासम्म स्थानीय सरकारसँग नजिक बसेर काम गर्न नपाएकोमा उनलाई केही पछुतो लाग्छ।
यद्यपि, एकपटक जिल्ला तहमा बसेर काम गरी स्थानीय सरकारलाई थप नजिकबाट बुझ्ने रहर लागेको उपसचिव न्यौपाने सुनाउँछन्। अधिकृतबाट सेवा सुरु गरेका चुडाराज लिखित परीक्षा दिएर नभई बढुवा भएर उपसचिव भएका हुन्। उनी भन्छन्, ‘अधिकृतपछि लिखितबाट एउटा पदमा पुगेको भए सचिव बनिन्थ्यो। काममा ध्यान दिँदा लिखित परीक्षाको ख्याल गरिएन। त्यसैले सचिव बन्न नपाइने भयो।’
कर्मचारीप्रति नागरिक किन सकारात्मक छैनन्
कर्मचारीरुले जसरी सेवा प्रवाह गर्नुपथ्र्यो, त्यसमा अल्छी गरेको उनी स्वीकार्छन्। कानुनी र प्रक्रियागत जटिलताले पनि कर्मचारीले चाहेजसरी काम गर्न नसकेको उनको बुझाइ छ। सफ्टवेयरले राम्रोसँग काम नगर्ने, बत्ती नहुनेलगायत कारण कर्मचारीले काम गर्न खोज्दा बाधा परिरहेको उनी बताउँछन्। ‘राष्ट्रसेवक कर्मचारीले ‘सेवक’ बिर्सिएर राष्ट्र मात्रै सोचेको अर्थात् आफू नै मालिक जस्तो व्यवहार देखाउने गरेको पाइन्छ,’ उनी भन्छन्, ‘नागरिकलाई सेवा दिनु आफ्नो दायित्व नसम्झिएर आफूले सेवा नदिए नागरिकको निर्वाह चल्दैन भन्ने सोच हामीमा व्याप्त छ। त्यसैले आममानिसको गुनासो बढेको हो।’
निजामती कर्मचारीले आफ्नो कामलाई जागिर वा जिम्मेवारीका रुपमा मात्रै लिन नहुने उपसचिव न्यौपानेको बुझाइ छ। यदि त्यसरी बुझे अर्काका लागि काम गरिदिएको, बाध्यात्मक अवस्थाजस्तो हुने उनकाे धारणा छ। ‘अहिलेसम्म मैले जिम्मेवारी मात्रै सोचेर नभई अपनत्व महसुस गरेर काम गरेको छु। हाकिम वा सरकारले जिम्मेवारी दिएपछि मैले नगरे यो काम कसले गर्छ भन्ने लागिरहन्छ,’ उनी भन्छन्।
निजामती सेवा कर्म दिने आमाबुबा
आफ्नो जागिर (निजामती सेवा) लाई कर्म दिने आमा र बुबाका रुपमा लिने गरेको उपसचिव न्यौपाने बताउँछन्। ‘कर्म दिने बुबा मेरो हाकिम हुन् भने कर्म दिने आमा भनेको जागिर हो, जसको छाती चुसेर मेरो जीवन चलिरहेको छ। त्यसकारण मेरो अन्तिम अवस्थासम्म हाकिम र जागिरलाई बेइमान गर्दिनँ,’ उनी भन्छन्, ‘तर, गलत हुन लागेको भेटिए हाकिमै भए पनि सम्झाउन पछि हट्दिनँ।