काठमाडौं। सेरेस थ्री र केई एक्स–३ प्रो नेपाली बजारका एकअर्काका प्रतिस्पर्धी ब्रान्ड हुन्। केई एक्स–३ प्रो चिनियाँ टप ५ अटोमोबाइल ग्रुपमा पर्ने चेरीको सहायक कम्पनी हो भने सेरेस चिनियाँ सरकारको स्वामित्वमा रहेको डोङफेङ मोटर्स साझेदारमा रहेको चीनको उदीयमान अटोमोबाइल कम्पनी हो। मुल्य र फिचरका कारण यी दुई ब्रान्डबीच नेपाली बजारमा तीव्र प्रतिस्पर्धा छ।
यी दुई गाडीका मूल्य तथा फिचर लगभग समान रहेका छन्। नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटोकर्प हो। केई एक्स–३ प्रोको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको ई–मोबिलिटी र जिओ अटोमोबाइल्स हुन्। एमएडब्लु वृद्धि मोटोकर्पले नेपाली बजारमा बिक्री गर्दैै आएको सेरेस थ्री २ वटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले यसअघि कम्फोर्ट भेरियन्ट ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्ट ५२ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको थियो।
कम्पनीले दसैं, तिहार तथा छठ, चाडवाड विशेष नाडा अटो शो २०२४ अवसरमा साढे ४ लाख रुपैयाँले मूल्य घटाएको हो। विशेष अफर घोषणासँगै कम्पनीले नयाँ सेरेस थ्री कम्फोर्ट भेरियन्टको मूल्य ४५ लाख ४९ हजार र नयाँ सेरेस ३ प्रिमियम भेरियन्टकोे मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकेको छ।
लक्ष्मी ग्रुपले नाडा अटो शोमा सार्वजनिक गरेको केई एक्स–३ प्रो ईभी एसयूभी, डिलक्स र फ्ल्यागसिप दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले डिलक्स भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरियन्टको ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
मोटर तथा ब्याट्री
यी दुवै मोडलमा लगभग एउटै साइजको ब्याट्री प्याक छ। सेरेस थ्रीमा ५२.७ किलोवाट आवरको टर्नरी लिथियम आयोन ब्याट्री दिइएको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। केई एक्स–३ प्रोमा ५३.६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ। यसमा १२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ।
रेन्ज
सेरेस थ्रीले एक पटकको फुलचार्जमा ४०५ किलोमिटर रेन्ज दिन्छ भने केईको एक्स–३ प्रोले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
ग्राउन्ड क्लियरेन्स
विद्युतीय गाडी किन्ने ग्राहकले सबैभन्दा धेरै सोध्ने र चासो लिने विषय ग्राउन्ड क्लियरेन्स हो। ग्राउन्ड क्लियरेन्सको तुलना गर्दा केई एक्स–३ प्रो भन्दा सेरेस–थ्री ७ एमएम बढी अग्लो छ। केई एक्स–३ प्रोमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने सेरेस–थ्रीमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स छ।
साइज
लम्बाइमा केई एक्स–थ्री केही लामो छ। चौडाइ र उचाइमा सेरेस केही अगाडि छ। केई एक्स–३ प्रो को लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ। यसको ह्वीलवेस २६३२ एमएम रहेको छ। सेरेस–थ्रीको लम्बाइ ४३८५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १६५० एमएम छ। यसको ह्वीलवेस २६५५ एमएम रहेको छ।
सुरक्षा फिचर
सुरक्षाका लागि सेरेसमा ६ वटा एयरब्याग दिइएको छ। यसमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), ह्विल लन्च असिस्टेन्ट, अटो होल्ड एन्ड एचडीसी, पार्किङ सेन्सर, ट्राक्सन कन्ट्रोल जस्ता सुविधा छन्।
सेरेसको प्रिमियम भेरियन्टमा भने कम्फर्टभन्दा केही थप विशेषता छन्। प्रिमियममा वायरलेस मोबाइल चार्जिङ, फ्रन्ट कोलाइजन वार्निङ, ३६० क्यामेरा जस्ता सुविधा दिइएको छ। त्यस्तै प्रिमियममा पानारोमिक सनरुफको सुविधा छ भने कम्फर्टमा यो सुविधा छैन।
केई एक्स–३ प्रोमा ४ वटा एयरब्याग मात्र दिइएको छ। यसमा ३६० डिग्री क्यामरा, रियर पार्किङ सेन्सर, ईबीडी, एबीएस, ईबीए, हिल असिस्ट र हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, अटोहोल्ड, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेनकिप असिस्ट, ट्रयाक्सन कन्ट्रोल आदि जस्ता सुरक्षा फिचर छन्।
क्याबिन फिचर
यी दुवै ब्रान्डमा क्याबिन फिचर पनि लगभग समान रहेका छन्। सेन्टर कन्सोलमा दुवै ईभीमा वायलेर मोबाइल चार्जिङ प्याड, अटोहोल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक प्रयोग भएको छ। दुवै एसयूभीमा लेदरेट सिट कभर, अटोमेटिक हेडलाइटको फिचर छ।
क्याबिनमा देखिने मुख्य फरक भनेको सेरेसमा खोल्न मिल्ने सनरुफ छ। तर, केईमा प्यानारोमिक स्काई रुफ मात्र छ। केई एक्स–३ प्रोमा बोनलेस वाइपर, भेहिकल टु लोड फेसलिटी र फ्रन्ट भेन्टिलेटेड डिसब्रेक छ, जुन सेरेसमा छैन।
केई एक्स–३ प्रोमा १०.२५ इन्चको डिजिटल इन्फोटेन्मेन्ट डिस्प्ले रहेको छ। यसको इन्टुमेन्ट क्लस्टर ७ इन्चको छ। यस ईभीमा एसी कन्ट्रोलका लागि फिजिकल बटन तथा ६ वटा स्पीकर दिएको छ। केई एक्स–३ प्रोमा स्पोट्स र ईको ड्राइभिङ मोड छ।
सेरेसमा पनि १०.२५ इन्चको फ्लोटिङ डिजिटल इन्फोटेन्मेन्ट डिस्प्ले रहेको छ। सेरेसको इन्टुमेन्ट क्लस्टर १०.२५ इन्चको छ। सेरेसमा स्पोर्टस, इको र नर्मल गरी ३ थरी ड्राइभिङ मोड छ।