काठमाडौं। माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोत्सव अवसरमा आउँदै गरेका चाडवाड लक्षित डिजिटल सेवामा अफरै अफर सञ्चालनमा ल्याएको छ।
आगामी असोज १७ बाट २५औं वर्ष गर्ने बैंकले वार्षिकोत्सव अवसरमा डिजिटल सेवामा विभिन्न क्यासब्याक तथा विशेष छुट अफर ल्याएको हो। बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप, डेबिट, क्रेडिट, डलर क्रेडिट तथा डलर प्रिपेड कार्डमार्फत कारोबार गर्नेलाई विशेष छुट दिनेछ।
बैंकले असोज १ देखि ३० सम्म एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट दिनेछ।
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिका लागि एकमुष्ट २,४०० रुपैयामै उपलब्ध गराउनेछ। बैंकले मोबाइल बैंकिङ एमबीएल स्मार्ट एपको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट दिनेछ।
योजनाअन्तर्गत असोज १६ र १७ गते दुई दिन बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले विभिन्न मर्चेन्टबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सकिनेछ।
बैंकले असोज १ देखि १८ सम्मका लागि डिजिटल कारोबार प्रोत्साहन गर्न आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत ग्राहक लक्षित क्विज कार्यक्रम सञ्चालन गर्ने र सही उत्तर दिने सहभागीमध्ये भाग्यशाली विजेतालाई आकर्षक उपहार दिइने जनाएको छ।
अफर अवधिभर बैंकबाट जारी डिजिटल माध्यमबाट कारोबार गर्ने ग्राहक र डिजिटल भुक्तानी लिने मर्चेन्टका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सद्वारा प्रायोजित विविध उपहार टिभी, मोबाइल फोन, ट्याब, स्मार्ट वाच, रिचार्ज कार्ड तथा आकर्षक गिफ्ट भौचर दिइने बैंकको भनाइ छ।