काठमाडौं। नेपालमा वार्षिक १२ करोड रुपैयाँ बराबरको च्याउ आयात हुने सरकारी तथ्यांक छ। नेपालमा च्याउ उत्पादन पर्याप्त नहुँदा छिमेकी मुलुकबाट वार्षिक साढे १२ करोडमाथि अर्थात् औसतमा ६ सय ९३ मेट्रिक टन च्याउ नेपाल भित्रिने गरेको हो।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १९ करोड ६९ लाख १७ हजार रुपैयाँ बराबरको ७ सय ३३ मेट्रिक टन च्याउ नेपाल आयात भएको देखिन्छ।
आर्थिक वर्ष २०७८/०७९ मा ३३ करोड ८२ लाख रुपैयाँको १ हजार २ सय १० मेट्रिक टन, आर्थिक वर्ष २०७७/७८ मा १५ करोड ६९ लाख रुपैयाँ बराबरको ८ सय ६४ मेट्रिक टन च्याउ नेपाल भित्रिएको थियो। यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ९ करोड ७६ लाख रुपैयाँको ५ सय ९७ मेट्रिक टन च्याउ आयात भएको भन्सार विभागको तथ्यांक छ।
यसले नेपालमा च्याउ खेतीको सम्भावना पर्याप्त भएको देखिन्छ। खासगरी नेपालमै व्यवसाय गर्न चाहने र उद्यम गरेर बस्न चाहनेका लागि च्याउ खेती उत्तम विकल्प हो। च्याउ खेती गर्न चाहने धेरै व्यक्तिहरु यसको तरिका, लगानी, व्यवसायिक योजना र आम्दानीजस्ता विषयको जानकारी नहुँदा खेती सुरु गर्न नसकेर पनि बसेका छन्। च्याउ खेती थोरै पुँजी, थोरै जनशक्ति र सामान्य तालिमका आधारमा पनि सञ्चालन गर्न सकिने व्यवसाय हो।
नेपालमा चाँडै प्रतिफल प्राप्त गर्न सकिने साजोर–काजु र प्लुरोट ओइस्ट्राटस गरी दुई जातका कन्ये च्याउ पाइन्छन्। कन्ये च्याउ सबै हावापानीमा सजिलै उत्पादन गर्न सकिने भएको यसलाई नेपालमा पनि उपयुक्त मानिन्छ। च्याउखेती गर्नलाई धेरै ठूलो ठाउँ नचाहिने, खेती गर्न सबैभन्दा सजिलो तथा बेच्नलाई सजिलो भएकोले नेपालमा केही गर्छु भन्नेहरुका लागि मनग्य आम्दानीको स्रोत हुन बन्न सक्छ।
यस्तो छ च्याउ उत्पादनको विधि
कन्ये च्याउ खेती गर्न लागि एक वर्ष पुरानो मुठे पराल राम्रो मानिन्छ। सफा मुठे पराल छानेर २ देखि २.५ इन्चको टुक्रा पारी दुई देखि तीन घण्टासम्म पानीमा भिजाएर पानी तर्काएर बोरा वा प्लाष्टिकमा वा सफा टिनमाथि राख्नुपर्छ। त्यसपछि हल्का चिसो पराललाई ड्रममा तीन घण्टादेखि डेढ घन्टापछि मुखमा बाँधेको प्लाष्टिक बाफले माथि उठ्न थालेपछि प्लाष्टिकबाट बाफ फाल्न बीचमा सानो प्वाल पार्नुपर्छ।
यसपछि एक भागमा पानीमाथि जाली राखी पराल राखी प्लास्टिकले राम्रोसँग बाँधी पराललाई बफाउनुपर्छ। आगो बालेको आधा बफ्याइएको पराललाई सफा प्लास्टिक वा त्रिपालमा राखेर मनतातो हुनेगरि सेलाए पश्चात् प्लाष्टिक झोलामा राख्नुपर्छ। सामान्यतया, बोतल च्याउको बीउबाट १६ इन्च चौडाइ र २४ इन्च लम्बाइको प्लास्टिकमा तीनदेखि चार वटा च्याउको डल्ला तयार गर्न सकिन्छ।
जाडो समय ठूलो आकार अर्थात् २० इन्च चौडाइ र ३० इन्च लम्बाइको प्लास्टिक र गर्मी समयमा सानो साइज अर्थात् १६ इन्च चौडाइ र २४ इन्च लम्बाइको प्लास्टिकमा च्याउको डल्ला बनाउनु पर्दछ। प्रत्येक प्लाष्टिकको थैलोमा पराल राख्दै थिच्दै हरेक ४ इन्चमा च्याउको बीउ छरेर टम्म भर्नुपर्छ र पराललाई गोलो बनाएर बाहिरबाट घुमाई माथि पनि केही बिउ छरेर प्लास्टिकको मुख कसिने गरी बाँध्नुपर्छ।
डल्ला तयार भएपछि हावाको सञ्चालन प्रक्रियामा सजिलो गर्न डल्लाको चारै तीर सफा सिन्कोले बिउको रेखाभन्दा तलमाथि प्वाल पार्नुपर्दछ। यी डल्लालाई एकअर्कामा नछुने गरी कम्तीमा एक बित्ता वा दुईदेखि तीन इन्च टाढा इट्टा, फलेक वा ढुंगामाथि वा कोठा सानो भएमा डल्लाहरूलाई झुन्डाएर राख्नु पर्दछ। यिनीहरूलाई २५ देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम भएको घाम नपर्ने अँध्यारो, ओसिलो कोठामा राख्नुपर्दछ।
गर्मी महिनामा ढुसीको विकास हुन २१ दिनसम्म राख्नुपर्छ भने जाडो महिनामा २८ दिनसम्म लाग्न सक्छ। डल्लामा पूर्णरूपमा ढुसी फैलिइसकेपछि प्लाष्टिकलाई सफा ब्लेड वा कैंचीले काटेर निकाली दिनुपदर्छ। प्लास्टिक निकालिएको ४ देखि ६ घण्टापछि स्प्रेयरको सहायताले डल्लाको चारैतिर पर्ने गरी तर पोकाको तालुमा नजम्ने गरी पानीले भिजाउनुपर्छ। यसरी दिनको दुई पटक वा आवश्यकता अनुसार पानी दिन सकिन्छ।
प्लाष्टिक खोलेको करिब एक हप्तापछि च्याउ टिप्नका लागि तयार हुन्छ। च्याउ टिप्दा हातले च्याउको फेदमा समाएर पराल नआउने गरी एकैपल्ट डल्लाका सबै च्याउ टिप्नुपर्छ। टिपिसकेपछि डल्लालाई चारैतिर माडेर त्यहाँ भएका स–साना च्याउका झुस फ्याँक्नुपर्छ र बेस्सरी माथिबाट थिच्नुपर्छ।
यसरी थिचिसकेपछि यी डल्लाबाट ७ देखि १० दिनको फरकमा पुनः च्याउ फल्दछ। यसप्रकारले एउटा डल्लाबाट ३ पटकसम्म राम्रो उत्पादन लिन सकिन्छ। च्याउ उम्रिसकेपछि बाँकी रहेका डल्ला गाई÷भैंसीलाई खुवाएर वा सोझै खाडलमा गाडेर स्तरीय कम्पोस्ट मल बनाउन सकिन्छ।
कस्ता कुरामा ध्यान दिने?
कोठा धेरै चिसो छ भने झिंगा वा भुसुना आउने सम्भावना बढी हुन्छ। यस्तो बेलामा डल्लाहरूलाई प्लाष्टिक वा पातलो कपडाले छोप्न सकिन्छ। त्यस्तै च्याउ उत्पादनको लागि वल राखिएको ठाउँ बेलाबेलामा सफा गरिराख्नुपर्छ। च्याउको डल्लालाई च्याउ नफलेको बेलामा घाममा सुकाउनुपर्छ। डल्लामा कालो खालको जंगली च्याउ ‘कोप्रिनस कोमाटस’ आएको देख्नासाथ टिपेर टाढा फाल्नु पर्दछ वा गाड्नु पर्दछ र उक्त च्याउ उम्रिएको भागमा स्प्रिटले सफा गर्नुपर्छ।
कोठामा कार्बनडाइअक्साइडको मात्रा बढी भएमा वा कोठामा राम्रोसँग प्रकाश वा हावा सञ्चालन भएनभने च्याउको डाँठ लामो, मोटो र बांगो भएर च्याउ बिग्रिन सक्छ। त्यसकारण कोठाको व्यवस्था गर्दा दोहोरो हावा सञ्चालन हुने गरी व्यवस्था गर्नुपर्छ। डल्ला सुख्खा भएमा, कोठामा हावाको सञ्चालन नभएमा, धेरै गर्मी वा चिसो भएमा, पुरानो बीउ भएमा, गुणस्तरको पराल नभएमा राम्रोसँग ढुसी आउँदैन र डल्लामा च्याउ ढिलो आउँछ र कम फल्छ।
उत्पादित च्याउ बिक्री गर्दा च्याउ उत्पादन गर्ने कृषकले समूह वा सहकारीमार्फत बिक्री वितरण गरेमा सजिलैसँग राम्रो बजार मूल्य पाउन सकिन्छ। बजार व्यवस्था नभएका ठाउँमा च्याउको प्रशोधन गरी ग्रेडिङ गरेर प्याक गर्नुपर्दछ। च्याउलाई बिचबाट च्यातेर माला उनेर छायाँ भएको ठाउँमा सुकाई च्याउको सुकुटी बनाउन पनि सकिन्छ। च्याउलाई नाजिकैको बजार, होटेल तथा रेस्टुरेन्टमा लगेर बेच्न सकिन्छ।
अनुमानित आवश्यक पुँजी र व्यावसायिक योजना
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले अध्ययन गरी तयार पारेको रिपोर्टअनुसार १०० वटा बलमा च्याउ खेती गर्न टनेल तयार गर्न करिब ८ हजार ५०० रुपैयाँ खर्च लाग्दछ। च्याउ खेती गर्न १२ हजार ३२५ रुपैयाँसहित गरी कुल लगानी भने २० हजार ८२५ रुपैयाँ हुने गर्दछ। यसबाट कुल ३९ हजार ५०० रुपैयाँ आम्दानी हुन्छ भने एक महिनामा १८ हजार ६७५ रुपैयाँ नाफा प्राप्त हुन्छ।
व्यावसायिक रूपमा च्याउ खेती गरी निर्वाहमुखीबाट लघुउद्यमी तथा साना उद्यमीमा स्तरोन्नति हुन सकिने भएकाले कुनै पनि व्यक्तिले यो खेती गर्न सक्छन्। कुनै पनि कृषकले आफ्नो पुँजी, बजार र आवश्यक्ताका आधारमा मात्रा तय गरी च्याउ उत्पादन गर्न सक्छन्। च्याउ खेतीका लागि अनुमानित आवश्यक पुँजी र व्यावसायिक योजनाअनुसार १००, २०० र ४०० वटा बलमा च्याउ खेती गर्दा हुने निम्नअुसार आम्दानी गर्न सकिन्छः
बल संख्या (वटा) टनेल बनाउँदा लाग्ने खर्च (रुपैयाँ) च्याउ खेती गर्न लागि लाग्ने खर्च (रुपैयाँ) कुल लगानी तथा खर्च (रुपैयाँ) कुल आम्दानी (रुपैयाँ) १ महिनाभित्र हुने नाफा (रुपैयाँ)