काठमाडौं। सरकार र यातायात व्यवसायीबीच आउँदै गरेका चाडवाड दसैं, तिहार तथा छठपर्वलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रिम टिकट छिटट्ट खुलाउने सहमति भएको छ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीबीच सो निर्णय गरेको हो।
भौतिक पूर्वाधा तथा यातायातमन्त्री देवेन्द्र दाहाल सहभागी छलफलमा सडक विभागअन्तर्गतका सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ।
बिपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्वनिर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवं रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न नेपाल प्रहरीमा आग्रह गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोटिङ गरिनेछ।
यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जाने गरी व्यवस्थित गर्ने निर्णय भएको छ।
इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी घटबढ हुँदा गरिने वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि नभएको तथा इन्धन मूल्यबाहेकको अन्य कारणले गर्नुपर्ने समायोजन विगत तीन वर्षदेखि नभएकाले छठलगत्तै भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए।
यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सकिने विषय सम्बोधन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने एवं अन्य निकायसँग सम्वन्धित सुझाव कार्यान्वयनका लागि सम्वन्धित सुझाव कार्यान्वयनका लागि सम्वन्धित निकायमा अनुरोध गरिने भएको छ।
यातायात व्यवस्थापनसँग सम्बन्धित अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेस विभागलाई निर्देशन दिने सहमति जुटेको छ। छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतमलगायत प्रतिनिधि सहभागी थिए।