काठमाडौं । आगामी एक वर्षभित्र सरकारले सय ओटा विद्युतीय बस खरिद गर्ने योजना बनाएको छ । तीन सय विद्युतीय बस खरिद गर्ने यसअघिको योजनाअनुसार सरकारले आगामी वर्ष पहिलो चरणमा ती बस खरिद गर्ने योजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए ।
उनले एकै चोटि तीन सय बस खरिद गर्न सकिने सम्भावना पनि रहेको बताए । ‘आगामी एक वर्षमा कम्तीमा एक सय विद्युतीय बस खरिद गर्ने हाम्रो सोच छ,’ उनले भने, ‘तर, कार्यदलले बनाएको प्राविधिक प्रतिवेदन आएपछि यथार्थ कुरा आउँला ।’
विद्युतीय बस सञ्चालन गर्न सरकारले छुट्टै यातायात प्राधिकरण बनाउँदैछ । उक्त प्राधिरकणमार्फत बस सञ्चालन र व्यवस्थापन गरिने सरकारको योजना छ । तर, अहिले प्राधिरकण वा ९० प्रतिशत सरकारी स्वामित्व रहेको साझा यातायातमार्फत चलाउने भन्नेबारे छलफल भइरहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘विद्युतीय बस चलाउन हामीले दुई तरिका अपनाएका छौं,’ उनले भने, ‘कि त प्राधिकरणमार्फत चलाउँछौं, कि सरकारी स्वामित्वकै साझा यातायातमार्फत चलाउने र त्यसको व्यवस्थापन गर्ने सम्भावना छ ।’
मन्त्री रघुवीर महासेठ पनि यातायात प्राधिकरणभन्दा साझा यातायातमार्फत बस सञ्चालन गर्नुपर्ने पक्षमा छन् । उनले एकै चोटि खरिद प्रक्रिया अघि बढाइने र खरिद क्षमता, सञ्चालन र पूर्वाधारको उपलव्धता हेरेर खरिद हुने बताए । मन्त्री महासेठले छिमेकी देशको सरकार र नेपाल सरकार (जीटुजी) मार्फत सम्झौता भएर खरिद गर्न सकिने बताए । आवश्यकता हेरेर टेन्डरमार्फत पनि बस खरिद गर्न सकिने विकल्प रहने मन्त्री महासेठको भनाइ छ ।
तर, बस खरिदको लागत कति लाग्ने र कसरी चलाइने भन्नेबारे कार्यदल बुझाएको प्रतिवेदनमार्फत हुने महासेठको भनाइ छ । २/३ दिनभित्र कार्यदलले बुझाएको प्रतिवेदन क्याबिनेटमा पेस भएर आउने मन्त्री महासेठले बताए ।
विद्युतीय सवारी खरिद प्रक्रिया, निर्माणलगायत विस्तृत स्पेसिफिकेसन अध्ययन गर्न मन्त्रालयअन्तर्गत निर्माण महाशाखाका शिव नेपालको संयोजकत्वमा अध्ययन गर्न गठित कमिटीले प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ ।
विद्युतीय सवारी खरिद जीटूजी प्रणालीबाटै गर्ने पक्षमा मन्त्री रघुवीर महासेठ छन् । अहिलेको अन्तर्राष्ट्रिय बजारअनुसार, एक विद्युतीय बसको मूल्य दुईदेखि साढे दुई करोड रुपैयाँ पर्छ । त्यसका आधारमा तीन सय विद्युतीय बस खरिद गर्न झन्डै साढे ६ अर्ब रुपैयाँ रुपैयाँ आवश्यक पर्छ ।
त्यसअनुसार, एक वर्षभित्र एक सय ओटा बस खरिद गर्न दुई अर्ब रुपैयाँ बजेट चाहिन्छ । यसअघि नै सरकारले तीन सय विद्युतीय बस खरिदका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।