क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका छन्। असोज ४ मा अमेरिका गएका प्रधानमन्त्रीले असोज १० मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन्। महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ।
सरकारले प्रत्येक वर्ष वैशाख ७ लाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। नेपालको हिमाली भागमा पाइने याकलाई चौंरीगाई पनि भनिने गरेको छ। असोज २ को मन्त्रिपरिषद् बैठकले याक दिवस मनाउने निर्णय गरेको हो। हिमाली क्षेत्रमा याकलाई सामान ढुवानी, दूध र मासुका लागि पाल्ने गरिन्छ।
सहकारी रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको छ। एमाले सांसद सूर्य थापा नेतृत्वको सात सदस्यीय छानबिन टोली तयार पारेको ११२४ पृष्ठ लामो पूर्ण प्रतिवेदन असोज ४ मा सार्वजनिक गरिएको हो। प्रतिनिधिसभाले पनि असोज ३ मा उक्त प्रतिवेदन वेबसाइटमार्फत सार्वजनिक गरेको छ। यसअघि भदौ ३१ मा समितिले प्रतिनिधिसभालाई छानबिन प्रतिवेदन बुझाएको थियो। समितिले बचत दुरुपयोग समस्यामा परेका ४० सहकारी संस्थाको वित्तीय विश्लेषणसहितको प्रतिवेदन तयार पारेको छ।
१७ देशका लागि सरकारबाट प्रस्तावितमध्ये १६ जना राजदूतको नाम प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। असोज ३ मा बसेको समिति बैठकले १७ मध्ये १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो। राजदूतमा प्रस्तावित रामकृष्ण भण्डारीको कागजात अपूर्ण देखिएपछि सुनुवाइ समितिले अनुमोदन गरेन। अनुमोदित नाम शितलनिवास पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले १६ राजदूतलाई औपचारिक रुपमा नियुक्त गर्ने समिति सभापति ईश्वरी न्यौपाने बताइन्।
सरकारले एकैपटक ७० उपसचिवसहित साढे १२ सय कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ अन्तिम सातायता करिब साढे १२ सय उपसचिवसहित नासु, खरिदार र शाखा अधिकृतको सरुवा–सूचीबारे असोज ३ मा जानकारी दिएको हो। ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिव सरुवा भएका छन्। निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीको सरुवा–पत्रमा अवधि तोकेरै कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ।
नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। कांग्रेस र एमालेबाट सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले असोज २ मा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवालाई बुझाएको हो। सरकारलाई बुझाइएको न्यूनतम साझा कार्यक्रमको मस्यौदा असोज २ को मन्त्रिपरिषद्ले पारित गरेको र साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए।
गत असारदेखि बन्द मेलम्ची पानी असोज दोस्रो साताभित्रै काठमाडौं पठाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले दसैं घटस्थापनाअघि नै मेलम्ची पानी काठमाडौं पथान्तरण गरिने असोज ४ मा जानकारी दिएको हो। दसैंअघि काठमाडौंमा मेलम्ची ल्याउन पथान्तरणको सबै तयारी अन्तिम चरणमा पुगेको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए। बर्खायाम सुरु भएसँगै धमिलो पानी आउन थालेपछि र बाढीले क्षति गर्ने आशंकामा काठमाडौं उपत्यकामा गत असार १० देखि मेलम्ची पानी ल्याउन बन्द गरिएको थियो। समितिले ३ महिनापछि काठमाडौंमा पुनः मेलम्चीको पानी ल्याउन लागेको हो।
सरकारले संविधान दिवस अवसर पारेर धरहरा अस्थायी रूपमा खुलाएको छ। भदौ २७ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार असोज ३ देखि धरहरा खुलाइएको हो। अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले धरहरा निःशुल्क रुपमा चढ्न सक्ने सहरी विकास तथा भवन विभागले जनाएको छ। २०७२ भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माण गरी ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा ल्याइएकोसहरी विकासमन्त्री प्रकाशमान सिंहले बताए।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङ ५४५ मिटर खनिएको छ। सिद्धबाबा टनेल प्रोजेक्टले असोज १ मा सार्वजनिक गरेको विवरणअनुसार सिद्धबाबा सुरुङमार्गको हालसम्म भौतिक प्रगति २२.८५ प्रतिशत पुगेको हो। आयोजनाका अनुसार सुरुङमार्गको मुख्य टनेलको लम्बाइ ११२६ मिटर रहेकामा हालसम्म मुख्य टनेल ५४५.५७ मिटर खनिसकिएको हो। आयोजनाका अनुसार उत्तरतर्फबाट २२३.८० मिटर र दक्षिणतर्फबाट ३०७.७७ मिटर खन्ने काम सकिइसकेको छ। आयोजना निर्माण चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)ले गत वर्षको माघ ४ देखि गरिरहेको छ।
संघीय संसद्को चौथो अधिवेशन अन्त्य भएको छ। गत वैशाख २८ बाट सुरु भएको चालू अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा भदौ ३१ मा अन्त्य भएको राष्ट्रपति कार्यालयले सूचना निकालेर जानकारी गराएको हो। १३० दिनसम्म चलेको अधिवेशनमा प्रतिनिधिसभाबाट उत्पत्ति भएका ५ र राष्ट्रिय सभाबाट उत्पत्ति भएका ६ विधेयक पारित भएका छन्।
यो साता सेयर बजारमा ६१.०३ अंकको गिरावट आएको छ। साताको तीन कारोबार दिन नै सेयर बजार ६१.०३ अंकले घटेर २५७६.७६ बिन्दुमा सीमित भएको छ। गत साताको पाँच कारोबार दिनमा एक दिन बढेर चार दिन घट्दा ३८.८३ अंकले घटेर सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६८८.५३ बिन्दुमा रोकिएको थियो। यो साता नेप्सेमा कुल २२ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता ४० अर्ब २४ करोडको कारोबार भएको थियो।
सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’मा सूचीकृत भएका छन्। होटेलियर इन्डियाले असोज ४ मा सार्वजनिक गरेको सूचीअनुसार विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्तामध्ये चौधरी पाँचौं पटक होटेलियर पावर लिस्टमा अटाएका हुन्। सीजी हस्पिटालिटी होल्डिङ्सले हाल १२ देशका ११६ गन्तव्यमा १८५ बढी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ।