काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपाली पहिचान रहेको बताएका छन्। नेपालको सवै जाति, भाषा, संस्कार, संस्कृति तथा विविधताका आधार संरक्षणमा सरकार प्रतिवद्ध रहेको उनले बताए।
पूर्वाञ्चल गन्दर्भ सांस्कृतिक उत्थान संघ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौंमा भएको भेटमा उनले नेपाली मौलिकता र नेपाली संगीतको संरक्षण साझा दायित्व भएको धारणा राखे।
नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षितसमेत गर्न जरुरी रहेको बताउँदै मन्त्री दाहालले कुनै पनि जात जातिको संस्कृति संकटमा परे राज्यको एउटा परिचायक नै संकटमा पर्ने बताए।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आवश्यक सहयोगका लागि आफ्नो मन्त्रालय समेत तयार रहेको उल्लेख गरे।
संस्थाका अध्यक्ष रबिन गन्दर्भले संस्थाले नेपाली मौलिक संगीतको संरक्षणका लागि देशव्यापी अभियान सञ्चालन गरिरहेको बताए। २०७९ सालको माघ २९ गतेदेखि सातै प्रदेशमा पुग्ने गरी थालेको अभियानका क्रममा कोशी र मधेशका अधिकांश स्थानीय तहसम्म पुगेको उनले जानकारी दिए।
गन्दर्भलाई लोपोन्मुख जातिमा सूचीकृत गर्नु पर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नु पर्ने, संगीतमाथिको हस्तक्षेप रोक्नु पर्नेलगायत विषयमा जागरण फैल्याउन अभियान सुरु गरिएको संस्थाले जनाएको छ।