काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका छन्।
विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र एमालेका नेताहरूले बिदाइ गरे।
प्रधानमन्त्रीसहितको टोली शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतारको दोहा र त्यहाँबाट अमेरिकाको न्युयोर्क उड्ने कार्यक्रम रहेको ओली सचिवालयले जानकारी दिएको हो।
अमेरिकामा जाने टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत छन्।
प्रधानमन्त्रीले असोज १० मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ।
प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहस उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नेछन्। समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय वार्तासमेत गर्नेछन्। प्रधानमन्त्री असोज १४ मा नेपाल फर्किने कार्यतालिका परराष्ट्रले सार्वजनिक गरेको छ।