काठमाडौं । दसैं–तिहार आउन करिब तीन साता बाँकी हुँदा अटो व्यावसायीहरु गाडी बिक्री गर्ने माहोल बनाउन व्यस्त छन्। व्यवसायीले ग्राहक तान्न विभिन्न खालका ‘अफर’ सार्वजनिक गर्ने क्रम चलिरहेको छ। सामान्य दिनमा भन्दा चाडपर्वको समयमा गाडी बढी बिक्री हुने भएकाले पनि अफर दिएर ग्राहक तान्न कम्पनी लागि रहेका हुन्छन्।
अटो कम्पनीहरुले आफ्नो व्यवसाय बढाइ ग्राहकलाई सेवा दिने उद्देश्यले खरिदकर्ताका लागि ‘स्किम’ सार्वजनिक गरेका छन्। कम्पनीले आफ्नो ब्रान्डका गाडी किन्ने ग्राहकलाई १० देखि १५ लाख रुपैयाँसम्म छुट दिने जनाएका छन्। कम्पनीले सार्वजनिक गरेको योजना अवधिभर ग्राहकले गाडी खरिद गर्दा मूल्यमा सहज फाइनान्सिङ र विशेष छुट पाउनेछन्। चाडपर्व लक्षित अफर दिने कम्पनीमा निसान, हुन्डाई, फक्सवागन, होण्डा, सिट्रोन, सुजुकि, वुलिङ, एमजीलगायत छन्।
लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक दिपक थपलिया गाडी प्रयोगकर्तालाई योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने हुँदा अफर ल्याउने गरेको बताउँछन्। ‘बेला–बेलामा यस्ता खालको अफरहरु कम्पनीले दिइरहेको हुन्छ। अन्य समयमा कुनै एउटा मोडलमा विशेष सुविधा हुन्थ्यो तर, चाडपर्वलाई लक्षित गरी सबै मोडलमा सुविधा दिएको छ,’ प्रबन्ध निर्देश थपलियाले भने, ‘यस्तो अफरले गाडी खरिद गर्ने ग्राहकलाई थप सहयोग पुग्ने विश्वास हामीले राखेका छौं।’
हुन्डाईको फेष्टिभ डिलाइट योजना
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारलाई लक्षित हुन्डाई फेष्टिभ डिलाइट योजना ल्याएको छ। जस अन्तर्गत हुन्डाईको कुनै पनि गाडी खरिदमा ग्राहकले १० लाखसम्म नगद छुट, स्क्रयाच कार्डमार्फत थप १ लाखसम्म नगद छुटका साथै १ वर्षका लागि नि:शुल्क सवारी बीमा तथा सवारी कर सुविधा प्राप्त गर्न सकिनेछ। त्यस्तै गाडीमा ३ वर्ष वारेन्टी र वर्षमा ३ वटा सर्भिसिङ फ्रि वा ६ वर्षमा १८ वटा फ्रि सर्भिसिङ हुन्डाईले उपलब्ध गराएको छ। साथै, ड्रमार्फत एकजना विजेतालाई हुन्डाईले नेपालमैै एसेम्बल गरेको ‘हुन्डाई भेन्यू लक्की’ दिने योजना बनाएको छ।
होन्डा कारमा ५ लाखसम्मको छुट
होन्डा गाडीका लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङले ‘होन्डा कार दसैं उपहार, अफरमाथि अफर’ नामक योजना ल्याएको छ। होन्डाको कुनै पनि कार खरिद गर्नेले ५ लाखसम्म नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ। त्यस्तै २ वर्षका लागि गाडीको बीमा र कर नि:शुल्क तथा ५ वर्षमा १० वटा सर्भिसिङको सुविधा पनि नि:शुल्क पाइने कम्पनीको भनाइ छ।
निसान फेस्टिभ डिल
नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसानका गाडीमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुट योजना सार्वजनिक गरेको छ। यो योजना निसानका सबै गाडीहरु निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागु हुनेछ। चाडपर्व अवधिभर लागु हुने ‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत १ वर्ष नि:शुल्क गाडी बिमा, नि:शुल्क ३ वर्षको सडक कर, नि:शुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १५ लाखसम्मको छुट दिइने कम्पनीले जनाएको छ।
त्यस्तै निसान म्याग्नाइट खरिदमा फेस्टिभ डिलअन्तर्गतको सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिने पनि कमपनीले जनाएको छ। साथै निसान एक्स–ट्रेलले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फर्मेन्स र उच्च स्तरको प्रविधिको साथ पारिवारिक एडभेन्चर तथा घुमघामका लागि आरामदायी एवं उपयुक्त सुविधा दिने दाबी कम्पनीको छ।
फक्सवागनको गाडीमा नगद छुटदेखि इन्धन सुविधा
नेपालमा फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेशनलले आउँदै गरेको दसैं–तिहारलाई लक्षित गर्दै ‘फक्सवागन फेस्टीभ फ्रिडम’ नामक स्कीम सञ्चालनमा ल्याएको छ। फक्सवागनका गाडी किन्ने ग्राहकले १० लाखसम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ। कम्पनीले ल्याएको स्कीममा ४ लाख रुपैयाँसम्म नगद छुट, ५ वर्ष भित्र बिक्री गर्न चाहे बाइब्याक ग्यारेन्टी, एक्सचेन्जमा २ लाख रुपैयाँ बोनस, ४ वर्ष नि:शुल्क सर्भिसिङ, इन्धन सुविधा, दुई वर्षसम्म कर छुट, सहजै फाइनान्स सुविधा उपलब्ध गराउने भएको हो। यो सुविधा सुरुमै फक्सवागनको गाडी बुकिङ गर्ने ५० जनाले पाउने छन्।
सिट्रोन गाडीमा दसैं अफर
सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी–३ र ईसी–३ मा फेस्टिभ अफर ल्याएको छ। पेट्रोल कार सी–३ खरिद गर्ने ग्राहककले ४ वर्षका लागि नि:शुल्क पेट्रोल, ४ वर्षकै लागि नि:शुल्क मर्मत सम्भार, १ वर्षका लागि नि:शुल्क बीमा र १ वर्षका लागि नि:शुल्क सडक करको सुविधा पाउनेछन्।
सिट्रोनको गाडी खरिदमा ग्राहकले ७ लाख ४० हजार डाउनपेमेन्ट गरे पुग्ने कम्पनीको भनाइ छ। यसैगरी, विद्युतीय गाडी ईसी–३ साइनको खरिदमा विशेष नगद छुट, नि:शुल्क बीमा र १ वर्षका लागि नि:शुल्क सडक करलगायत सुविधा दिइएको छ। कम्पनीले यसलाई प्रि बजोट मूल्य ३५ लाख ९९ हजारमा बिक्री गर्ने जनाएको छ।
सुजुकीमा ४ लाखसम्म छुट
नेपालका लागि सिजी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले ग्राहक लक्षित सुजुकी ‘पर्वाेत्सव स्किम’ सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउने छन्।
यो योजना देशभरीका सुजुकी गाडीका ३५ वटै शोरूमहरू र विभिन्न मोडेलका कारहरूअनुसार फरक फरक किसिमका छुटहरू लागू हुने कम्पनीले जनाएको छ।
टाटा मोटर्सको टुर प्याकेजदेखि ग्याजेटसम्म
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैं लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ। सार्वजनिक भएको योजना अनुसार टाटाको प्रत्येक कमर्शियल गाडी खरिदकर्ताले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक लिन सक्नेछन्। होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रीज, एसी, टीभी, माइक्रो वेभ छन्।
त्यस्तै ग्याजेटअन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच लिन सकिन्छ। टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई र युरोप जान सकिने छ। यस्तै बुकिङ गर्दा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरपड प्राप्त गर्न गर्न सक्नेछन्। यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडी खरिदमा लागु हुने कम्पनीले उल्लेख गरेको छ। आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।
वुलिङ विङ्गोमा २ लाख छुट
नेपालमा वुलिङ गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले दसैं अफर ल्याएको छ। वुलिङ विङ्गो किन्ने ग्राहकले २ लाख नगद छुट पाउनेछन्। यसअघि ३१ लाख ९९ हजारमा विक्री गर्दै आएको गाडी अफर अवधिभरका लागि २९ लाख ९९ हजारमा बिक्री हुनेछ।
एमजीमा ६ लाख छुट
नेपालका लागि एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यसअघि ६ लाख छुटको योजना सार्वजनिक गरेको थियो। कम्पनीले एमजी जेडएस ईभीको १०० वटा गाडीमा ६ लाख छुटको योजना ल्याएको थियो।
एमजी मोटर्सको १०० वर्षे उत्सव मनाउन सार्वजनिक गरेको अफर २०२४ अक्टोबर ५ सम्म कायम गरिए पनि ग्राहक प्रतिक्रिया र उच्च मागका कारण २०२४ सेप्टेम्बर २० सम्म लागु हुने कम्पनीले जनाएको छ। यसअघि ५२ लाख ९९ हजार पर्ने जेडएस ईभीलाई अफरअन्तर्गत ग्राहकले ४६ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन्।