काठमाडौं । सरकारले १७ देशका लागि राजदूत प्रस्तावित गरेकोमा प्रतिनिधि सभाको सुनुवाइ समितिले १६ जनाको नाम अनुमोदन गरेको छ।
रामकृष्ण भण्डारीको कागजात अपूर्ण देखिएको भन्दै सुनुवाइ समितिले अनुमोदन नगरे पनि अन्य १६ जना प्रस्तावित राजदूतको नाम समितिले बिहीबार अनुमोदन गरेको हो। अनुमोदित नाम राष्ट्रपति कार्यालयमा गएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले १६ राजदूतलाई औपचारिक रुपमा नियुक्ति गर्नेछन्।
१२ जना प्रस्तावित राजदूतको नाम समितिले सर्वसम्मत र चार जनाको बहुमतबाट अनुमोदन गरिएको हो। एक जनाको कागजात नपुगेको भन्दै स्थगित गरिएको समिति सभापति ईश्वरी न्यौपाने बताइन्।
सुनुवाइ समितिले चीनका लागि डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका लागि शर्मा, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासंघका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि नरेशविक्रम ढकालको नाम अनुमोदन गरेको छ।
त्यस्तै, दक्षिण अफ्रिकाका लागि श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन गरेको छ। मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र इजरायलका लागि धनप्रसाद पण्डितको नाम अनुमोदित भएको छ।