काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेको छ।
बिहीबारदेखि ४२ जिल्लाका पाँच दर्जन बढी स्थानमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको हो। बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका छन्।
खाद्य व्यवस्थापले थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष राखेर दसैं बजार खोलिएको जनाएको छ।
चडवाड लक्षित बजारमा ५० हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्य बिक्री गरिने र चामल, दालमा बजार प्रचलित मूल्यभन्दा किलोको ५ रुपैयाँ छुट दिइने खाद्यले बताएको छ।
सुपथ मूल्यका पुलमा तेलमा लिटरमा ५ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकिलोमा ७ रुपैयाँ छुट दिइनेछ।
कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएर बिक्री गरिनेछ।
खाद्यले जिउँदो खसी–बोका र च्यांग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिएर बेच्नेछ।
मकवानपुर, दाङको तुलसीपुरलगायत स्थानबाट १५०० वटा खसी–बोका, मुस्ताङको कालो च्यांग्रा ३ सय वटा चाडपर्व लक्षित योजनाअनुसार बिक्री गरिने खाद्यको भनाइ छ। खाद्य व्यवस्थालाई सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसलका सञ्चालन गर्न ३ करोड बजेट दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ २३ मा सहुलियत पसल सञ्चालन गर्न निर्णय गरेको थियो।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।