काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको टोलीले असोज ४ देखि चाडपर्व लक्षित विभिन्न १० छुट्टाछुट्टै समूह बनाएर संयुक्त अनुगमन गर्ने भएको छ।
सामान्य बेला उजुरी, गुनासोका आधारमा दैनिक तीन÷चार टोलीमार्फत बजार अनुगमन गर्दै आएको विभागले चाडपर्वमा खपत हुने खाद्यवस्तु, माछामासु, लत्ताकपडा, फलफूल, तरकारीलगायत पसलमा सरकारी संयन्त्रका विभिन्न १० टोली बनाएर बजार अनुगमन गर्ने भएको हो। विभागलाई कालोबजारी र मूल्यवृद्धिमा नागरिकको गुनासो नसुनेको आरोप लाग्दै आएको छ।
बजार अनुगमनमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण, आन्तरिक राजस्व, नेपाल गुणस्तर तथा नापतौल, पशुपक्षी, कृषि, पशु विभाग, उपत्यकाका तीन वटै जिल्ला प्रशासन, स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग र स्थानीय सरकारबीच समन्वय गरेर बजारमा दौडिन थालेको विभागका निर्देशक डिकबहादुर कार्कीले बताए।
‘संयुक्त बजार अनुगमन टोलीले यातायात, राजमार्गका होटल तथा रेस्टुराँ, पसल, पानीलगायतको पनि अनुगमन गर्छ। अरू बेला सबै निकायले छुट्टाछुट्टै बजार अनुगमन गर्दै आएकामा मेलापर्वमा संयुक्त अनुगमन गर्दा उपभोक्ताले महसुस गर्न सक्ने देखिन्छ। अतः चाडपर्व समय कालोबजारी, खाद्य मिसावट, गुणस्तरहीन वस्तु बिक्रीवितरण रोक्न संयुक्त रूपमा बजार अनुगमन गर्न जरुरी छ’, उनले भने।
७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा ७५३ वटा स्थानीय सरकारका उपप्रमुखलाई बजार अनुगमन अधिकार प्रत्यायोजन गरिसकिएकाले मेलापर्व लक्षित बजार हुने उनको भनाइ छ।