असोज २, काठमाडौं। सरकारले प्रत्येक वर्ष वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अग्रसरतामा यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यस सम्बन्धी प्रस्ताव स्वीकृत भएको थियो। याक तथा चौरीको संरक्षण, संवर्द्धन, एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले जानकारी दिनुभयो।
याक दिवसको घोषणाले याकजन्य वस्तुहरूको गुणस्तर वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान पुग्ने, साथै याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ।
जंगली याकसँग स्थानीय गाईको क्रस गरि घरपालुवा चौरीको विकास गरिने भएकाले जंगली याकको संरक्षण चौरी उत्पादनसँग प्रत्यक्ष जोडिएको छ।
नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा-३ फ्याट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दुग्ध परिकारको रूपमा रहेको, याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरूको आम्दानीको प्रमुख स्रोत भएको र हिमाली सभ्यताको रूपमा याक रहेको छ।
याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। याक अनुवांशिक स्रोत केन्द्रले २०८० साल वैशाख ७ गते आफ्नो ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा याक तथा चौरीको संरक्षण र संवर्द्धनका लागि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरि मनाउने निर्णय गरेको थियो।