काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको न्यूनतम साझा कार्यक्रम अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारी कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर तयार पारिएको बताएका छन्।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले तयार पारेको मस्यौदा बुझाउँदै यस्तो प्रतिक्रिया दिएका हुन्।
'सरकार बनाउँदा कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिका आधारमा मस्यौदा तयार पारिएको छ। यो साझा कार्यक्रम नभई दुई राजनीतिक दलको साझा संकल्प र नीतिगत प्रतिबद्धता रहेको हो,' उनले भने। मस्यौदामा छिमेकी देशसँगको सम्बन्ध, आफ्ना पार्टीका प्राथमिकतामा जोड दिइएको उनले बताए।
संविधान निर्माण गर्ने मुख्य शक्ति नै कांग्रेस र एमाले भएकाले संविधान जोगाउने जिम्मेवारी पनि आफूहरूको नै भएको उनको भनाइ छ। 'संविधान थप सुदृढ बनाउने गरी संशोधन गर्ने विषय पनि समेटेका छौं। संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी प्रणाली झनै मजबुत बनाउन अनुभवको वस्तुनिष्ठ समीक्षा गरेर परिमार्जन हुनेकुरा मस्यौदामा छन्,' महामन्त्री थापाले भने।
प्रधानमन्त्री बुझाइएको मस्यौदा मन्त्रीपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुने उनले बताए। 'अहिले मन्त्री परिषद्को बैठकले अनुमोदन गरेर सार्वजनिक हुन् । दुई राजनीतिक दल मिलेर सरकार बनिरहेको अवस्थामा नीति तथा कार्यक्रम आएर संसद्बाट पारित भइसकेको छ। बजेट पनि बनिसकेको छ। यसको लिमिटेशनलाई पनि ख्याल गरेका छौं,' उनले भने।
अर्थतन्त्र थप गतिशील बनाउने, अलपत्र पूर्वाधार निर्माणलाई गति दिने, मौलिक हक र लैंगिक समानता, गरिबी हटाउने, संक्रमणकालीन न्यायका बाँकी कुरा टुंग्याउने विषय मस्यौदामा रहेको उनले बताए।