काठमाडौं । नेपाल पर्यटन बोर्डले अपांगता भएका १२ जनासहित ९६ इजरायली पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको जनाएको छ।
नेपालस्थित इजरायली दूतावासको समन्वयमा नेपाल आएको टोलीलाई मंगलबार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका हुन्।
सालोम राफ्टिङ ट्रेक्स एन्ड एक्सपिडिसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ। बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टरमार्फत मनाङको हुम्दे, थोरङलापास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकोप्टरमार्फत पोखरा र पोखराबाट काठमाडौं फर्किनेछ।
ऋपांगता भएका पर्यटक आगमन र उनीहरुले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपांगमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रवाह बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले बताए। उनले भने, ‘हामीले कतिपय स्थानमा अपांगतामैत्री ट्रेल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपांगतामैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं। यसले नेपाल सबलांगका लागि मात्र नभई अपांगताका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्नेछ।’
विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपांगमैत्री गन्तव्य भएको उल्लेख गर्दै सुन्दरताको लाभ लिन आग्रह गरे।
‘नेपाल प्रकृतिको अनुपम उपहार हो। यो देश साँच्चिकै सुन्दर छ। यहाँको कला–संस्कृति र परम्परा, प्रकृति र आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँछ । विगतका वर्षमा नेपाल भ्रमणमा आएका अपांगता भएका पर्यटकको वर्णनका आधारमा अहिले यो संख्याका पर्यटक नेपाल आएका हुन्। यो संख्या आउँदा दिनमा पुनः बढ्नेछ’, उनले भने।
नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे।
बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपांगता भएका व्यक्तिको नेपाल भ्रमण गर्ने सोच र योजनाले विश्वरभरका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए।
इजरायली दूतावासको समन्यवमा गत वर्ष पनि अपांगता भएका पर्यटक टोलीले नेपाल भ्रमण गरेको थियो। सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०२४ को अगस्तसम्म ३ हजार २०५ जनाले भ्रमण गरेका छन्।