काठमाडौं । उद्योग विभागले चालू आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा साढे १२ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्ष २०८१/८२ को भदौ मसान्तसम्म १६५ परियोजनामार्फत १२ अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता विभागले बुधबार विवरण सार्वजनिक गरेको हो।
विभागका अनुसार साउन र भदौमा अटोमेटिक रुट, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए), टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए), प्रत्यक्ष वैदेशिक लगानी, सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)सहित उक्त लगानी प्रतिबद्धता प्राप्त भएको हो।
प्रत्यक्ष वैदेशिक लगानीका ९७ उद्योगका लागि १२ अर्ब १२ करोड २४ लाख, अटोमेटिक रुटबाट ८६ करोड २५ लाख तथा एसपीए तथा एसएसएका लागि १६ वटा परियोजनामार्फत ५९ करोड ६२ लाख ६२ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।
२ महिनाको वैदेशिक लगानी प्रतिबद्धताअनुसार उद्योग सञ्चालान भए ४८५ जनाले रोजगारी पाउने विभागले बताएको छ।
९७ उद्योगमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ९५ साना उद्योग तथा २ वटा ठूला उद्योग रहेका छन्। भदौमा ३८ साना उद्योगका लागि प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ।
प्रत्यक्ष वैदेशिक लगानी सबैभन्दा धेरै पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा बढी भित्रिएको छ। २ महिनाको अवधिमा वैदेशिक लगानी स्वीकृत भएका ९७ उद्योगमध्ये पर्यटन ७१.७३, उत्पादन ६.६, सूचना प्रविधि ३.३ र कृषिका २.२ रहेका छन्। पर्यटनमा ७१.७३ प्रतिशत, सेवामा १५.१६ प्रतिशत विदेशी लगानी प्रतिबद्धता आएको छ।
यस्तै, ६६ परियोजनाका लागि ४ अर्ब ११ करोड ६६ लाख ५० हजार रुपैयाँ र एसपीए तथा एसएसएका लागि ७ परियोजनामार्फत २८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। यसबाट थप १६२ ले रोजगारी पाउनेछन्।
यस्तै, चालू आवको साउन र भदौमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ८६ करोड बराबरको एफडीआई स्वीकृत भएको छ। अटोमेटिक रुटमार्फत कुल ५२ उद्योगका लागि एफडीआई स्वीकृत भएको हो।
विभागका अनुसार भदौमा अटोमेटिक रुटमार्फत कुल २१ उद्योगका लागि एफडीआई स्वीकृत भएको हो ।
यस्तै, २ महिनामा सूचना प्रविधि ३८, पर्यटन ८, उत्पादनमूलक २, सेवामूलक ३ र पूर्वाधारमूलक १ उद्योगमा गरी उक्त परिमाणको एफडीआई अटोमेटिक रुटमार्फत स्वीकृत भएको हो।
सरकारले गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनका बेला अटोमेटिक रुट कार्यन्वयनमा ल्याएको थियो।
विभागका अनुसार हालसम्म ६ हजार ३६४ परियोजनाका लागि ५ खर्ब ३२ अर्ब ९९ करोड ४६ लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यसबाट ३ लाख ३४ हजार ६२४ जनाले रोजगारी पाउनेछन्।