काठमाडौं। भारतको प्रसिद्ध उडान होटल एन्ड रिसोर्ट ग्रुप नेपालमा औपचारिक रुपमा भित्रिएको छ। भारतको दार्जिलिङ, गान्टुक, सिक्किमस्थित लाचुङ, सिलगुडी र कालेपुङ क्षेत्रमा होटल निर्माण तथा सञ्चालन गर्दै आएको उडान ग्रुपले झापामा सञ्चालित पाँचतारे होटल मेची क्राउनको व्यवस्थापन सम्हालेको हो।
होटलले बुधबार आधिकारक रुपमा सूचना जारी गर्दै व्यवस्थापनको रुपमा उडान ग्रुप भित्रिएको घोषणा गरेको हो। उडानले गत साउन ३१ गतेदेखिनै व्यवस्थापन सम्हालेपनि १ महिनापछि औपचारिक घोषणा गरेको हो।
श्रोतका अनुसार उडान ग्रुपले दीर्घकालीन भाडा (लङटर्म लिज)मा लिएको छ। उडान ग्रुपले मेची क्राउन १२ वर्षका लागि भाडामा सम्झौता गरेको एक सञ्चालकले जानकारी दिए। सम्झौताअनुसार मेची क्राउनका सञ्चालकलाई आम्दानीसमेत बाँडफाँट गरिनेछ। तर, यो विषयमा आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।
सञ्चालनमा आएको छोटो समयमै वेडिङ डेस्टिनेसन र क्यासिनोका लागि रोजाइमा पर्दै आएपछि मेची क्राउनले १ वर्ष अघिबाट ६० करोड रुपैयाँ लगानी थपेर १ सय कोठा विस्तार गरेको छ। यससँगै होटलमा २ सय ५ वटा कोठा रहेका छन्। कोभिडपछि होटल व्यवसाय संकटमा परिरहेका बेला मेची क्राउनले राम्रो व्यापार गरिरहेको थियो।
मेची क्राउनमा नेपालकै सबैभन्दा ठूलो क्यासिनो ‘भेगास’ रहेको छ। भेगास सञ्चालक कम्पनीको भारत गोवामा पनि सञ्जाल रहेकाले धेरै भारतीय मेची क्राउनको क्यासिनोमा खेल्न आउने गरेका छन्।
होटल रहेको स्थानबाट भारतको बागडोरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १२ किलोमिटरको दूरीमा छ। सो विमानस्थल हुँदै बढी मात्रामा भारतीय र बंगलादेशी नागरिक नेपाल आउने गरेका छन्।
पूर्वी नाका काँकडभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दूरीमा रहेकाले त्यहाँका पर्यटक आउने गरेका छन्। होटलमा पाँच सुइट रूम, १० भिल्ला, २० क्लब रुम र ७० डिलक्स रुम छन्। दुईवटा रेस्टुरेन्ट, ब्यांक्वेट हलसहित हेलिप्याडको सुविधासमेत छ।
आठ बिघा क्षेत्रफल ओगटेको मेची क्राउन परिसरमा १ हजार वृक्षारोपण गरिएको छ। यसले वातावरण सुहाउँदो बनाउन सहयोग पुगेको छ। त्यस्तै, स्विमिङ पुल, स्पा सेन्टर, स्टिम बाथ, जिम हल, टेनिस कोर्ट र ब्युटिपार्लर भवन परिसरमै छन्।