नेपालको पर्यटकीय गतिविधिले बेलाबेला धार परिवर्तन गर्ने गर्छ। त्यसको परिणाम वर्षौदेखिको डुंगा सफारीलाई विस्थापित गर्दै तिनै खोला, नदी र तालतलाउमा पृथक खाले खेल अघि बढाउन थालिएको छ। जल–पर्यटनप्रति आकर्षित पर्यटक र्याफ्टिङमा रमाउने गर्छन्। तर, पछिल्लो समय डुंगा सफारीको सट्टा मोटरबोटले ठाउँ लिन थालेको छ। मोटरबोटको सुरुआतले एकातिर पर्यटकीय गतिविधि बढेको छ भने अर्कोतिर जोखिममा पर्न थालेका तालतलैया संरक्षण हुन थालेका छन्। तालतलैयालाई संरक्षण गरी पर्यटन प्रवद्र्धनमा लगाउँदा रोजगारी सिर्जना भई स्थानीय सरकारको आम्दानीमा समेत सहयोग पुर्याएको छ।
पर्यटकीय गतिविधि बढाउन मोटरबोट थपिएपछि विगतमा विदेश गएर ‘वाटर स्पोर्टस्’मा संलग्न हुने नेपाली पनि नेपालकै मोटरबोट र क्रुजमा रमाउने वातावरण बनेको छ। जलाशयमा डुंगा चलाउँदा सामान्य अनुभव मात्रै प्राप्त हुन्छ भने मोटरबोट प्रयोग तथा अन्य गतिविधि गर्दा साहसिक जल–पर्यटनको आभास मिल्छ। मोटरबोट प्रयोगमा हावा, पानी र गतिको सम्मिश्रण हुने भएकाले यसलाई साहसिक खेलका रुपमा समेत लिने गरिन्छ।
लामो समयदेखि मृतावस्थामा रहेको सुर्खेतको बुलबुल ताल त्यसैको एउटा उदाहरण हो। स्थानीय सरकार, प्रशासन र सरोकारवालाको बेवास्ताका कारण लामो समय फोहोर र जलकुम्भी भरिएर मृत बनेको बुलबुल तालमा अहिले सररर मोटरबोट चल्न थालेसँगै त्यस क्षेत्रमा पर्यटकीय र आर्थिक गतिविधि बढेका छन्।
बोटेबोरा कम्पनीले आफ्नै अग्रसरतामा बुलबुल तालमा भएको फोहोर सफा गरेर मोटरबोट सञ्चालनमा ल्याएसँगै वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ शुल्क बुझाउने गरेको छ। त्यति मात्र होइन, वीरेन्द्रनगरले विभिन्न नाममा राजस्वसमेत संकलन गर्छ।
पछिल्लो समय डुंगा सफारीको सट्टा मोटरबोटले ठाउँ लिन थालेको छ। मोटरबोटको सुरुआतले एकातिर पर्यटकीय गतिविधि बढेको छ भने अर्कोतिर जोखिममा पर्न थालेका तालतलैया संरक्षण हुन थालेका छन्।
‘मोटरबोट सञ्चालनपछि कर्णालीका हिमाली जिल्लाबाट पनि मानिस आउने गरेका छन्। बुलबुल ताल फेरि एक पटक आकर्षणको केन्द्र बनेको छ’, बोटेबोराका सञ्चालक बीबी ढकालले भने, ‘स्थानीय साधन–स्रोतको उपयोग गर्दै मोटरबोट सञ्चालन हुँदा पर्यटक र आर्थिक गतिविधि दुवै बढाएको छ।’
मोटरबोटले स्थानीय क्षेत्रलाई गुल्जार बनाएको सुर्खेतको बुलबुल ताल मात्रै होइन, नेपालगञ्जको वाटरपार्कमा पनि आन्तरिक र भारतीय पर्यटक संख्या उल्लेख्य बढाएको छ। यसले नेपालगञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्र्न र आर्थिक गतिविधि बढाउन सहयोग पुर्याएको छ। चितवनको शिवघाट, सिन्धुलीको खुर्कोट, बर्दियाको राजापुरलगायतका तालतलैयामा मोटरबोट चलिरहेको छ। बर्दियाको राजापुरमा बोट चढेर डल्फिन माछासमेत हेर्न पाइन्छ। मोटरबोट सञ्चालन हुँदा निस्कने पानीको छालमा डल्फिन देखिने गरेको र त्यसले समग्रमा पर्यटकीय गतिविधि बढाउन मद्दत गरेको छ।
बोटेबोरा सञ्चालक ढकालका अनुसार हाल नेपालका विभिन्न जलाशय र नदीमा करिब १५० मोटरबोट सञ्चालित छन् भने मोटरबोट प्रयोगले पर्यटकीय गतिविधि बढाउन ठूलो भूमिका खेलेको छ। पछिल्लो समय मानिसहरु ‘वाटर एक्टिभिटिज्’मा रमाउन थालेका छन् र दिनप्रतिदिन रुचि बढ्दै गएको मोटरबोट प्रयोगले देखाउँछ। ढकाल स्वामित्वको बोटेबोराले मुलुकका विभिन्न ७ ठाउँमा १७ वटा मोटरबोट सञ्चालन गरिरहेको छ भने नवलपरासीस्थित ‘नेपाल सीप एन्ड बोट बिल्डिङ कम्पनी’ ले १०८ वटा विभिन्न क्षमताका मोटरबोट उत्पादन गरिसकेको छ।
नेपालमा मोटरबोट पर्यटन सुरुआत गर्ने श्रेय व्यवसायी राजकुमार श्रेष्ठलाई जान्छ। उनले उनले चितवनको ठिमुरामा रिभर एक्सकर्जन ट्राभल एन्ड टुर्समार्फत पहिलो पटक व्यावासयिक रुपमा मोटरबोट सञ्चालन गरेका थिए। तत्कालीन समय श्रेष्ठले जापानबाट दुईटा ‘जेट स्की’ र एउटा ‘जेट बोट’ ल्याएर नारायणी नदीमा मोटरबोट सेवा सुरु गरेका थिए। उनको कम्पनीले सेती दोभानदेखि त्रिवेणीको ड्यामसम्म बोट सञ्चालन अनुमति पाए पनि चितवन राष्ट्रिय निकुञ्जका कारण पुलचोक क्षेत्र केन्द्रित भएर बोट चलिरहेको छ।
मोटरबोट प्रयोगको आधार खोज्दा सन् १९६८ मा एडमन्ड हिलारी र जोन हेमिल्टनले दुईटा मोटरबोट कोसी र गण्डकी नदीसम्म ल्याएको पाइन्छ। केही समय नेपालका नदीमा मोटरबोट परीक्षण गरेका उनीहरुले सञ्चालनका लागि गण्डक (नारायणी) नदी उपयुक्त भएको भन्दै भरतपुर गाउँपञ्चायतलाई जिम्मा लगाएर स्वदेश फर्किएका थिए। त्यतिबेला नै भारतको कलकत्ताादेखि गोलालघाटसम्म पानीजहाज आइसकेको थियो। भरतपुर गाउँपञ्चायतले उपहारमा पाएका ती बोटलाई केही समय विदेशी ‘पाइलट’ राखेर सञ्चालन गरिए पनि मर्मतसम्भारलगायतमा समस्या भएसँगै निरन्तर प्रयोगमा आउन सकेनन्। केही समयपछि ती मोटरबोट भाडामा लिएर कोसी नदीमा सञ्चालन गर्न थालियो। त्यसमध्ये एउटा अहिले पनि कोसीमा चलिरहेको छ।
स्थानीय सरकारको आम्दानी स्रोत
मुलुक संघीय संरचनामा गइसकेपछि केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार संविधानमै लिपिबद्ध छ। सोहीअनुरुप स्थानीय सरकार आफू आत्मनिर्भर बन्न संविधानमा भएका अधिकारलाई प्रयोग गर्न प्रयासरत देखिन्छन्। स्थानीय स्तरमा रहेका जलस्रोत उपयोग गरी आम्दानीको नयाँ आधार तयार बनाउन स्थानीय सरकार सक्रिय भएको देखिन्छ।
हाल नेपालका विभिन्न जलाशय र नदीमा करिब १५० मोटरबोट सञ्चालित छन् भने मोटरबोट प्रयोगले पर्यटकीय गतिविधि बढाउन ठूलो भूमिका खेलेको छ। पछिल्लो समय मानिसहरु ‘वाटर एक्टिभिटिज्’मा रमाउन थालेका छन् र दिनप्रतिदिन रुचि बढ्दै गएको मोटरबोट प्रयोगले देखाउँछ।
रङमहल रिभर ल्यान्ड प्रालिका अध्यक्ष आशीष मल्ल मोटरबोट स्थानीय सरकारको आम्दानीको गतिलो स्रोत बनेको बताउँछन्। ‘६/७ वर्षअघिसम्म सुनसान नारायणी नदीमा मोटरबोट चलेपछि चहलपहल बढेको छ,’ अध्यक्ष मल्लले भने, ‘अहिले दैनिक हजार बढीले मोटरबोटको मजा लिन्छन्।’ नारायणी नदीमा अनुमति (लाइसेन्स) लिएर मोटरबोट चलाउने पहिलो व्यक्तिका रुपमा परिचित मल्लकै नेतृत्वमा लुम्बिनी र कोसीमा समेत गरि ८ वटा मोटरबोट सञ्चालन भइरहेको छ। लुम्बिनीमा मोटरबोट यात्रा गर्न न्यूनतम साढे २ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म शुल्क तिर्नुपर्छ। स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका खोला र तालतलैयालाई संरक्षण गरेर आम्दानी गर्न सक्ने माध्यमका रुपमा विकास गर्नुपर्ने मल्लको सुझाव छ।
सर्लाहीको बागमती नगरपालिकाका कर्मचारी सन्तोष गडालका अनुसार भरत तालमा गत आर्थिक वर्षमा मात्रै १ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ। भरतपुर महानगरले पनि पुलचोकस्थित नारायणी नदीमा सञ्चालित मोटरबोटबाट वार्षिक न्यूनतम ५० लाख रुपैयाँ राजस्व उठाउँदै आएको छ। त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरले वार्षिक १३ लाख, बाँकेको नेपालगञ्ज उपमहानगरले वार्षिक २० लाख रुपैयाँ राजस्व उठाएका छन्। त्यस्तै, लुम्बिनीमा सञ्चालित मोटरबोटले वार्षिक १ करोड ८० लाख रुपैयाँ लुम्बिनी विकास कोषलाई बुझाउने गरी ५ वर्षका लागि ठेक्का सम्झौता गरेको छ। तनहुँको आँबुखैरेनी, चितवनको देवघाट, कोसी नदीलगायत स्थानमा सञ्चालित मोटरबोबाट पनि स्थानीय सरकारले मनग्य राजस्व असुलिरहेका छन्। हाल विभिन्न स्थानीय सरकारले टिकट शुल्कका आधारमा १० देखि २५ प्रतिशतसम्म राजस्व उठाइरहेका छन्। बागमतीले प्रतिटिकटमा २० प्रतिशत राजस्व लगाएको छ। बोटेबोराका सञ्चालक ढकालका अनुसार मुलुकभर सञ्चालित मोटरबोटले वार्षिक चार करोड रुपैयाँ स्थानीय सरकारलाई राजस्व तिर्छन्।
त्यसो त, स्थानीय सरकारले राजस्व मात्रै उठाएका छैनन्, स्थानीय स्तरमा सञ्चालित मोटरबोटका कारण रोजगारी सिर्जनामा सहयोग पनि मिलिरहेको छ। एउटा मोटरबोट सञ्चालनबाट कम्तीमा २० जनाले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाएका छन्। एउटा मोटरका लागि न्यूनतम दुई चालकसहित सहयोगी, प्राविधिक, टिकट काउन्टर तथा प्रशासनिक जनशक्ति आवश्यक पर्छ। मोटरबोट सञ्चालित क्षेत्रमा होटल, रेस्टुरेन्ट र अन्य स–साना विभिन्न किसिमका व्यवसाय सञ्चालनमा आउने हुँदा प्रत्यक्ष/अप्रत्यक्ष धेरैले रोजगारी पाउने/स्वरोजगार बन्ने अवसर मिल्छ।
बागमती नगरपालिकास्थित भरततालमा ३२ मोटरबोट सञ्चालित छन्। नगरका अनुसार दैनिक औसत एक हजार जनाले मोटरबोट चढ्छन्। बिदा, पर्वोत्सव अवसरमा एकै दिन ३–४ हजार जनाले मोटरबोटको अनुभव लिन्छन्। भरतताल वरपर दर्जनौं होटल तथा रेस्टुरेन्ट सञ्चालित छन्। त्यस्तै, चितवनको नारायणी नदी किनारमा पनि मोटरबोटकै कारण होटल तथा रेस्टुरेन्टले राम्रो व्यवसाय गरिरहेका छन्। मोटरबोटकै कारण नदी छेउछाउ ‘स्ट्रिट फुड’ पनि चलिरहेका छन्।
नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमका अनुसार आन्तरिक एवं बाह्य पर्यटकको बसाइँ अवधि लम्ब्याउन मोटरबोट गतिलो माध्यम बनेको छ। मुलुकका विभिन्न स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका पोखरी र तालतलैया संरक्षण गरेर मोटरबोट सञ्चालन र त्यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन क्षेत्रमा टेवा पुर्याइरहेको गौतमको तर्क छ।
५० लाख लगानीमा मोटरबोट
नेपालका लागि आवश्यक मोटर उत्पादन गर्दै आएको सीप एन्ड बोट बिल्डिङ कम्पनीले जापानी सुजुकीबाट उत्पादित इन्जिन र आइकमको सूचना प्रणाली, अमेरिकाको मल्टिफ्लेक्सको स्टेरिङ प्रणाली र ग्रामिनको नेभिगेसन प्रणाली प्रयोग गरी बोट उत्पादन गर्दै आएको छ। पछिल्लो समय इटहरीमा पनि मोटरबोट उत्पादन गर्ने काममा एउटा कम्पनी लागेको बताइन्छ। यद्यपि, अझै पनि कतिपय बेला मोटरबोट आयात गरिँदै आएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा दुईटा मोटरबोट आयात भएको छ। तर, पछिल्लो एक दशकमा विदेशबाट मोटरबोट आयातभन्दा पनि कच्चा पदार्थ ल्याएर नेपालमै उत्पादन गर्ने परिस्थिति बन्दै गएको छ।
स्थानीय सरकारले राजस्व मात्रै उठाएका छैनन्, स्थानीय स्तरमा सञ्चालित मोटरबोटका कारण रोजगारी सिर्जनामा सहयोग पनि मिलिरहेको छ। एउटा मोटरबोट सञ्चालनबाट कम्तीमा २० जनाले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाएका छन्।
सीप एन्ड बोट बिल्डिङ सञ्चालक ढकालका अनुसार एउटा मोटरबोट उत्पादन गर्न कम्तीमा २० लाख रुपैयाँ लाग्छ। ‘मोटरबोट सञ्चालन गर्न कम्तीमा दुईटा मोटरबोट चाहिन्छ। त्यसैले कम्तीमा ५० लाख रुपैयाँ लगानीमा कुनै कम्पनी वा स्थानीय सरकारले मोटरबोट सञ्चालन गर्न सक्छन्’, ढकालले भने, ‘तर, मोटरबोट सञ्चालन गर्न फराकिलो दायरा चाहिन्छ।’
२०६३ फागुन २३ मा मुलुकभित्र रहेका तालतलैया, दह, कुण्ड, पोखरी एवं सिमसार संरक्षण तथा संवद्र्धनका लागि गठित ‘राष्ट्रिय ताल संरक्षण विकास समिति’का अनुसार नेपालमा ५ हजार ३५८ प्राकृतिक ताल छन्। पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल २ हजार ७ सय बढी ताल रहेका छन्। नेपालमा सानाठूला करिब ६ हजार नदीनाला भएको अनुमान छ। त्यसमध्ये १ हजार बढी नदीनालाका विभिन्न क्षेत्रमा मोटरबोट र केही नदीमा क्रुज सञ्चालन गर्न सकिने सम्भावना छ। अहिलेसम्म नेपालका ठूला जलाशय विद्युत् उत्पादनमा मात्रै प्रयोग भइरहेको छ। यस्ता जलाशयलाई साहसिक पर्यटनमा विकास गर्न सकिए पर्यटकीय प्रवद्र्धनमा ठूलो सहयोग मिल्नेछ।
‘अहिले नदी र जलाशयमा मोटरबोट बढी सञ्चालन भइरहेका छन्। यो मनोरञ्जनका हिसाबले राम्रो हो तर यसलाई ढुवानी वा यातायातका रुपमा पनि उपयोग गर्न सकिन्छ’, बोटेबोराका सञ्चालक ढकाल भन्छन्, ‘भारतको कोलकातादेखि चितवनको दासढुंगासम्मको रुटमा १० टनसम्मको जहाज सजिलै ल्याउन सकिन्छ। यसो गर्न सकिए ढुवानी खर्च निकै कम पर्छ।’ विदेशमा ५ हजारमा गरिने पर्यटकीय गतिविधि नेपालमा एक प्लेट ‘मःमः’कै खर्चमा गर्न सकिने ढकालको दाबी छ। उनी भन्छन्, ‘रन अफ रिभरमा औसतमा २५० देखि ३५० रुपैयाँमा अनुभव लिन सकिन्छ।’
फेवा र रारातालमा मोटरबोट चलाउन ढकालको सुझाव
बोटेबोराका सञ्चालक ढकाल पर्यटक आकर्षित गर्न पोखराको फेवा र मुगुको रारातालमा मोटरबोट वा ‘क्रुज’ सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन्। ‘हामीसँग प्रकृतिले दिएको ठूलो संरचना छ भने किन उपयोग नगर्ने?, स्वीट्जरल्यान्ड पनि नेपालजस्तै भूपरिवेष्ठित मुलुक हो। तर, क्रुज/सीप सञ्चालन गरी राम्रो आम्दानी लिइरहेको छ’, ढकालले भने, ‘वातावरणलाई कमभन्दा कम हानि हुने गरी फेवा र राराजस्ता विभिन्न ताल तथा जलाशयमा क्रुज सञ्चालन गर्दा राज्यको आम्दानी मात्रै बढ्दैन, पर्यटक आकर्षण बढ्ने र रोजगारीका लागि पनि टेवा पुग्छ।’
विगतमा पोखराको फेवातालमा क्रुज सञ्चालन तयारी भए पनि विभिन्न कारणले रोकिँदै आएको छ। ‘पर्यटकीय राजधानी पोखरामा आउने स्वदेशी र विदेशी पर्यटकलाई एक रात क्रुजमा ‘पार्टी’ गर्ने अवसर दिने हो भने पर्यटकबाट हुने खर्च र बसाइँ अवधि पनि लामो बनाउन सकिन्छ,’ ढकालले भने, ‘रारामा पनि मोटरबोट र क्रुजको सम्भावना ठूलो छ। रारा पुग्ने जोकोहीले क्रुजको रमाइलो नलिने कुरै हुँदैन।’
रारा र फेवालाई उदाहरणका रुपमा प्रस्तुत गरिए पनि मुलुकका विभिन्न क्षेत्रमा रहेका तालतलैया र नदी किनारमा पर्यटकीय गतिविधि बढाई स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग मिल्ने ढकालको धारणा छ।
(भदौ अंकको क्यापिटल बिजनेस म्यागजिनबाट)