काठमाडौं । निजी वायुसेवा कम्पनीबीच जहाज थप्ने प्रतिस्पर्धा बढेसँगै निर्जीवन बिमा कम्पनीको एभियसन इन्स्योरेन्स (हवाई बिमा)वापतको बिमाशुल्क वृद्धि भएको तथ्यांक नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको छ।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा आव २०८०/८१ मा हवाई बिमाशुल्क आम्दानी ३५.६३ प्रतिशतले बढेको हो।
गत आवमा १४ निर्जीवन बिमा कम्पनीले हवाई बिमाबापत २ अर्ब ६० करोड ७३ लाख ६५ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको तथ्यांक बोर्डको छ। यस्तो आम्दानी अघिल्लो आवमा १ अर्ब ९२ करोड २ लाख ९२
हजार रुपैयाँ थियोर
बोर्डका अनुसार हवाई बिमा कारोबार काठमाडौं र पोखरामा बढी छ।
प्राधिकरणका अनुसार बागमती प्रदेशबाट बिमा कम्पनीले आव २०८०/८१ मा २ अर्ब ६० करोड ४६ लाख ५० हजार र पोखराबाट ३० लाख १५ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्।
निजी क्षेत्रका वायुसेवा कम्पनीले गत आवमा हेलिकोप्टरबाहेक पाँच जहाज खरिद गरेको तथ्यांक छ। यीमध्ये यती एयरले दुईवटा एटिआर ७२–५००, बुद्धले एवटा एटिआर ७२–५०० र श्री एयरले बम्बार्डियर ड्यास–८०० सिरिजका दुई विमान खरिद गरेको छ।
हाल नेपालका वायुसेवा कम्पनीसँग हेलिकोप्टरबाहेक सानाठूला गरी ५६ जहाज रहेको उड्डयन प्राधिकरणको विवरणमा उल्लेख छ।
यीमध्ये बुद्ध एयरसँग सर्वाधिक १७ वटा विमान छन्। यस्तै, श्री एयरसँग ११, यतीसँग ७, नेपाल एयरलाइन्ससँग ६, हिमालय, समिट र सीता एयरलाइन्ससँग ४–४, तारा एयरसँग ३ वटा विमान छन्।