काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले विगतका सरकारले भन्दा अहिलेको सरकारले राम्रोसँग काम अघि बढाइरहेको बताएका छन्।
उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए।
‘जनचाहनाअनुसार विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सरकारले विगतका राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’ धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सिंहले भने।
उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्ने जोड दिए।
व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उनले उल्लेख गरे। ‘व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भाष्य बनाउन खोजिँदै छ। तर, त्यस्तो होइन,’ उनले भने, ‘२०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौं न। परिवर्तन त भएका छन् नि।’
उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा राम्रो हुँदै गएको उनले बताए।