काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेस प्रदेश गठन गरेको छ। वीरगन्जमा आयोजित कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको सुरुआत गर्दै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए।
उनले उद्यमशीलताको प्रवद्र्धन गर्न कोष बनाएको भन्नुहुँदै मुलुकभित्र रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ छ। रोजगारी अभावमा युवाहरु विदेशिएको अवस्थामा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाका साथ युवा उद्यमीलाई संगठित गर्ने कार्यका लागि परिसंघको युवा उद्यमी मञ्चलाई धन्यवाद दिए। उनले प्रदेशसँगै समग्र मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग मिलेर अगाडि बढिरहेको समेत बताए।
नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवरुलाई नीतिबाटै सहजीकरण, प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
देशमा रोजगारी बढाउन, औद्योगिकीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेकोमा समेत उनले जोड दिए।
परिसंघ मधेस प्रदेशका अध्यक्ष प्रमोद साहले कानुनी एवं नीतिबाटै युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए।
युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले मधेस प्रदेशको आर्थिक विकासले देशलाई समृद्धि दिन सक्ने बताए। त्यसैले मञ्चमार्फत नयाँ अवसर खोज्दै उद्यमशीलतामा नयापन ल्याउँदै र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ अघि बढ्न चाहेको उनको भनाइ छ।
युवा उद्यमी मञ्च मधेस च्याप्टरका अध्यक्ष रजत बजाजले देशको महत्त्वपूर्ण आर्थिक केन्द्र रहेको मधेस प्रदेशका युवा उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गरिने जानकारी दिए।
परिसंघ युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टर बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दीपक साह रहेका छन्।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो।
सोही अवसरमा युवा उद्यमी मञ्च मधेस च्याप्टरसँग होटल लर्डस् दियालो, हेलिङ टच स्पा, म्याजिक बेल्स, होटेल सरोभर, थ्रील फ्याक्ट्री, होटल इच्छा, वल्र्ड अफ वन्डर एन्ड स्पोर्ट हाउसले सहकार्र्य समझदारी गरेको सीएनआईले जनाएको छ।