काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी परियोजना सञ्चालन गर्न एनसेल फाउन्डेसन घोषणा गरेको छ। मंगलबार नेपालमा सेवा सुरु गरेको १९औं वार्षिकोत्सव अवसरमा एनसेलले उक्त घोषणा गरेको हो।
'विगतका १९ वर्षमा १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य गरेर २ अर्ब १ करोड (५० लाख अमेरिकी डलर)भन्दा बढीको योगदान गरेका छौं। हाम्रा राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण हुने विश्वास गरेर एनमेल फाउन्डेसन स्थापना गरेका हौं,' मंगलबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाल्बोर काय्मोभले भने।
एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको उद्देश्य रहेको बताएको छ। यस्तै सामाजिक कार्य आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने, दिगो
र समृद्ध नेपाललाई बढावा दिने रहेको उनले बताए।
२०७२ को भूकम्पपछि एनसेलले प्रभावित परिवारको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ उपलब्ध गराएको थियो। कम्पनीले परिवारजन तथा आफन्तसँग सम्पर्कमा रहिरहन ग्राहकलाई १ अर्ब ६० करोड बराबरको सेवा सुविधा निःशुल्क उपलब्ध गराएको थियो।
कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो। गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग उपलब्ध गराएको थियो र भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयलाई कक्षाकोठा बनाउन पनि सहयोग उपलब्ध गराएको थियो।
त्यसैगरी २०७१ मा देशका विभिन्न भागमा आएको बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग उपलब्ध गराएको थियो।
१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ५ वर्षमा कम्तीमा २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
'एनसेलले टावर राख्ने, मानिसलाई दूरसञ्चार सेवा र रोजगारी दिने काम मात्र गर्दैन, 'दिगो, प्रभावकारी र हामी तपाईकै लागि' थिम अनुसार काम गर्दै नेपालमा उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्यसहित अगाडि बढेको छ,' उनले भने।
सोही कार्यक्रममा एनसेलले हालै पेरिस पारालिम्पिक्स २०२४ मा नेपालका लागि कास्य पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ।
'एक वर्षअघि एनसेलको वार्षिकोत्सव अवसरमा हामीले पारालिम्पिक कमिटी नेपालसँग नेट गरी हामी तपाईंको संस्थामार्फत पारा खेलाडीको विकासका लागि सहयोग गर्ने कुरा गर्दा विश्वास गर्न सक्नुभएको थिएन। तर, हामीले सामाजिक पहलअन्तर्गत सहयोग गरेका छौं,' जाल्बोरले भने।
एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सव उपलक्ष्यमा नाइन्टिन फर नाइन्टिन परियोजना घोपणा गरिएको छ। यसअन्तर्गत सातै प्रदेशबाट छानिएका १९ सामाजिक कार्य कार्यान्वयन गरिने कम्पनीले जनाएको छ। प्रत्येक आयोजनालाई १० लाख निड फन्डका रुपमा सहयोग गरिने छ। गत वर्ष 'एटीन फर एटीन'अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेकाछन्।
सन् २००५ सेप्टेम्बर १७ बाट एनसेल पहिले मेरो मोबाइलले सेवा सञ्चालन गरेको थियो। नेपालको एक ठूला करदाताको रुपमा एनसेलले आफ्नो स्थापना काल देखि आजसम्म ३२० अर्बभन्दा बढी सरकारलाई कर तथा शुल्क बुझाइसकेको छ।
१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले वृक्षरोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्किनिङ, रक्तदान कार्यक्रम, स्किल क्याम्पलगायत विभिन्न कार्यक्रम आयोजना गरिने बताएको छ।