काठमाडौं । नेपालका परम्परागत घरहरमा पहिले कमेरो र रातोमाटोले पोतेर आकर्षक बनाइन्थ्यो । ढुङ्गा माटोले बनेका ग्रामिण घरहरु सजाउन अहिले पनि यस्तै रंङहरुको संयोजन देख्न पाइन्छ । तर, आधुनिक तरिकाले बनाइएका घर सजाउन रङ्ग्याइने कलरहरुको संयोजन भने धेरै परिबर्तन भइसकेको छ ।
घरको आकार, डिजाइन, स्थान तथा प्रयोजन अनुसार इन्टेरियर डेकोरेटरहरुले फरक फरक कलरहरु उपयोग गर्छन् । अहिले सहरी क्षेत्र मात्र नभए गाँउका घरमा पनि आधुनिक कलरिङ गर्ने प्रचलन बढेको छ । २०७२ सालको भुकम्प पछि निर्माण भएका सबैजसो घरका आधुनिक कलर नै प्रयोग भइरहेका छन् ।
भुकम्प पछिको पुननिर्माणले निर्माण सामग्रीसँगै कलरको व्यापार पनि बढाएको थियो । पुनर्निर्माणको काम अझै भइरहेको भए पनि अहिले निर्माण सामग्रीका साथै कलरको व्यवसायमा भने मन्दी छाएको छ । भुकम्प पछिका चार÷पाँच वर्षसम्म लगातार वार्षिक ३० देखि ३५ प्रतिशतले कलरको व्यापार बढेको व्यववसायीहरु बताउछन् । तर, अहिले भने रङको व्यापार घट्दै गएको रङरोगन व्यापार संघका अध्यक्ष रामचन्द« खत्रीले बताए ।
उनि भन्छन् ‘२०७२ सालको भुकम्प पछी उपत्यका तथा बाहिरी जिल्लाहरुमा समेत रङको व्यापार ३५ प्रतिशतले बढेको थियो । तर, अहिले कन्ट्रक्सनका काम कम हुदै गएकाले गत वर्षको तुलनामा कम भएको छ । त्यसले गर्दा रङको मागमा बृद्धी भने हुन सकेको छैन ।’
अहिले नेपालमा स्वदेशी तथा विदेशी गरी ५० देखि ६० ब्राण्डका रङहरु उपलब्ध छन । यस्ता ब्राण्डका कलरहरु नेपालमा वार्षिक २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरु बताउछन् । तर, व्यापारको ७० प्रतिशत खपत हिस्सा विदेशी ब्राण्डको रहेकामा संघका अध्यक्ष खत्रीको भनाई छ । उनि भन्छन् ‘७० विदेशी कम्पनी र बाँकी ३० प्रतिशत हिस्सा नेपाली पेन्ट्सले बजार धान्नेको छ ।’
नेपालमा बार्षिक १ अर्ब बराबरको रङ आयात हुने नेपाल रङरोगन संघले जनाएको छ । संघका अनुसार रङ आयात गर्दा भन्सार बढी लाग्ने भएकोले स्वदेशी उत्पादसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । सोहि कारण नेपालमा विदेशी रङको आयात कम छ । बिदेशमै उत्पादन भएको कलर आयात गर्नुपर्दा ५२ प्रतिशतसम्म भन्सार शुल्क लाग्छ ।
तर, कलर बनाउँने कच्चा पदार्थ आयातमा भने २८ प्रतिशतमात्र भन्सार शुल्क लाग्छ । सोहि कारण नेपालमा स्वदेशी उत्पादन नै सस्तो पर्छ । बिगतका बर्षहरुको तुलनामा निर्माणकार्य कम भएकोले यो बर्ष रङको व्यापार पनि घट्दै गएको जस्मीन पेन्ट्सका सेल्स म्यानेजर सुवास वाग्लेले बताए ।
चार पाँचसम्म धेरै घर बनेकाले पेन्ट्सको खपत बढेको तर, अहिले घर निर्माण पनि कम भएकाले रङको व्यापार घटेको उनको भनाई छ । उनले भने ‘नेपालमा व्यापार हुने भनेको क्रेडिटको मार्कट हो । त्यसैले क्रेडिटको सिनारियो यो वर्ष खराब भएर आएको दुई वर्ष भन्दा पहिला सुधार हुने देखिएको छैन ।’
नेपालमा पाउने कम्पनीहरु
नेपालमा अन्तर्राष्ट्रिय बजारमा पाइने धेरै ब्राण्डका कलरहरु उपलब्ध छन् । संघका अनुसार स्वदेशी तथा विदेशी कम्पनीहरुका ६० भन्दा माथिका ब्राण्ड उपलब्ध छन् । नेपाली बजार एसियन, पशुपति, बर्जर, कन्साई नेरोल्याकलगायतका ब्राण्ड चल्तीमा छन् ।
अहिले बजारमा बर्जर पेन्ट्स प्रतिलिटर ७ सय रुपैयाँदेखि १ हजारसम्म, एसियन पेन्ट्स २ सय ५० रुपैयाँदेखि १ हजार ५ सयसम्म, केएनपी जापान २ सय रुपैयाँदेखि ९ सय रुपैयाँसम्म र अपूर्व पेन्ट्स ८ सय रुपैयाँदेखि १ हजार ३ सय रुपैयाँसम्म बजार मुल्य पाउने गरेको छ ।