काठमाडौं । संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया सेयर खरिद बिक्रीमा नक्कली कागजात बनाएर भुक्तानी गरिएको प्रतिवेदन सार्वजनिक गरेको छ। सूर्यदर्शनसहितका ५ सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकाल्दै समितिले तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको हो।
समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ। यसमा सहकारी सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ।
सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभा बैठकमा पेस गरेको प्रतिवेदनमा ४५१ जनासँग सहकारी रकम अपचलनबारे छलफल तथा सोधपुछ गरिएको उल्लेख छ।
समितिले १४ वटा बैठकमा सहकारी बचत रकमको अपचलनमा आरोपित ४७ सहकारी संचालक, रवि लामिछानेसहित गोर्खा मिडियाका सञ्चालक तथा कर्मचारीसमेत तीन जनासहित ५५ जनासँग सोधपुछ गरेको छ।
यस्तै समितिले ४० सहकारी संस्थाको वित्तीय विश्लेषणसहितको प्रतिवेदन तयार पारेको सभापति थापाले प्रतिनिधि सभालाई बताए।
प्रतिवेदनका अनुसार सहकारी ठगीमा विवाह, अंशबन्डा, ऋणी र सेयर सदस्यसमेत नक्कली रहेको पाइएको छ।
थापाले प्रतिनिधि सभामा पेस गरेसँगै सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
यस्तो छ प्रतिवेदनकोको अंश