काठमाडौं । सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको छ। समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गर्दै साढे तीन महिनमा ४५१ जनासँग सहकारी रकम अपचलनबारे छलफल तथा सोधपुछ गरिएको बताए।
उनले समितिको बैठक ५६ पटक बसेको र सोही आधारमा प्रतिवेदन तयार गरिएको सदनलाई जानकारी दिए।
समितिले १४ वटा बैठकमा सहकारी बचत रकमको अपचलनमा आरोपित ४७ सहकारी संचालक, रवि लामिछानेसहित गोर्खा मिडियाका सञ्चालक तथा कर्मचारीसमेत तीन जनासहित ५५ जनासँग सोधपुछसमेत गरिएको उनले बताए।
'समितिले बचत दुरुपयोग समस्यामा परेका ४० सहकारी संस्थाको वित्तीय विश्लेषणसहितको प्रतिवेदन तयार पारेको छ,' थापाले भने।
प्रतिवेदन पेस गर्दै थापाले सहकारी ठगीमा विवाह, अंशबन्डा, ऋणी र सेयर सदस्यसमेत नक्कली रहेको पाइएको बताए। ‘सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ। सहकारी रकम दुरुपयोग गर्न विवाह, अंशबन्डा, पुनर्विवाह पनि नक्कली गरिएको देखियो। साधारणसभा र प्रतिवेदन पनि फेक छन्। सेयर सदस्यदेखि ऋणीसमेतलाई नक्कली बनाएर सहकारीको रकम दुरुपयोग गरेको भेटियो,' थापाले भने।
थापाले प्रतिनिधि सभामा पेस गरेको प्रतिवेदन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्।