काठमाडौं। सेयर बजारमा ५७.०३ अंक अर्थात् २.१६ प्रतिशतको गिरावट आएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा बन्द भएको हो। सोमबार कायम भएको सूचक साउन यताकै न्यून हो। यसअघि साउन १० गते नेप्से २५६८.१३ बिन्दुमा थियो।
असार १६ गते २०३७.०९ बिन्दुबाट बढ्न थालेको नेप्से ९६३.७२ अंक (४७.३ प्रतिशत)ले उकालो लागेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगी घट्न थालेको बजार सोमबार २५८०.७६ बिन्दुमा सीमित भएको हो। अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ५०.७३ अंकले घटेर २६३७.७९ बिन्दुमा बन्द भएको थियो।
सोमबार नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा कुल ७ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन आइतबार भने नेप्सेमा कुल १० अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर छ।
सोमबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा हिमालयन हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ। यस्तै, गुडवील फाइनान्स र थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले घटेको छ।
सोमबार बैंकिङ समूहको सेयर मूल्य १.५९ प्रतिशत, विकास बैंक समूहको २.७२ प्रतिशत, फाइनान्स समूहको ५.६६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.४८ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य २.२८ प्रतिशतले घटेको छ। लगानी समूहको सेयर मूल्य २.५३ प्रतिशत, जीवन बिमा समूहको सेयर मूल्य १.९१ प्रतिशत, उत्पादन समूहको १.७१ प्रतिशत, लघुवित्त समूहको २.४३ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.९१ प्रतिशतले घटेकोक छ।