काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन असोज ४ गते अमेरिका जान लागेको संसदलाई जानकारी गराएका छन्।
सोमबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभामा नेपालका नीति दृष्टिकोण, अडान समस्या र उपलब्धिबारे विश्वलाई जानकारी गराउने बताएका हुन्।
‘राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता, असल छिमेकीको रूपमा छिमेक सम्बन्ध राख्न चाहन्छ। त्यस्तै व्यवहार छिमेकीबाट पनि चाहन्छौं। राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्त र आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र स्वतन्त्र नीतिमा हस्तक्षेप नगर्ने नेपालको स्थापित नीति रहेको जानकारी गराउँछौं,' उनले भने।
महासभामा पर्यावरणीय इकोसिस्टमबारेमा कुरा उठाउने उनको भनाइ छ। नेपाल जस्ता मुलुकमा हिमालमा हिउँ पग्लिएर परेको प्रभावबारेमा विश्व नेतालाई संरक्षणका लागि आग्रह गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि हस्तक्षेप अस्वीकार गर्ने स्थापित नीतिलाई संयुक्त राष्ट्रसंघमा पुन: उठाउने प्रतिवद्धता जनाए। नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्ट्रसंघमा देशको पक्षमा केन्द्रित भएर विषय उठान गर्ने उनले बताए।
‘नेपाल एउटा सार्वभौम स्वतन्त्र, स्वाधीन राष्ट्र हो। सोही अनुसार छिमेक र विश्वका देशसँग सम्बन्ध विकसित गर्ने नीतिबारे जानकारी गराउँछु,' ओलीले भने।