काठमाडौं । लक्ष्मी सन्राइज बैंकको सौजन्यमा उपत्यकाका तीनै जिल्लामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरी काठमाडौं, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम दिइएको छ।
किडपावर नेपालको आयोजना र लक्ष्मी सन्राइज बैंकको सौजन्यमा राष्ट्रिय बाल दिवस २०८१ अवसरमा उपत्यकामा २०० बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम दिइएको हो।
गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका, सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुरका विद्यालयमा तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ।
तालिम भदौ २५ देखि २८ सम्म सञ्चालन गरिएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षकलगायत बैंकका शाखा प्रमुखको उपस्थितिमा तालिम सञ्चालन गरिएको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका प्राध्यापकले सुरक्षासम्बन्धी सिकाइलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यसको प्रभावकारिता अझ बढ्ने बताए।
तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तर्राष्ट्रियका नेपालका निर्देशक अधिवक्ता सुष्मा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्णप्रसाद खनाल थिए।