काठमाडौं । सहकारी बचत रकम दुरुपयोगबारे संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
जेठ १५ मा नेकपा एमाले नेता सूर्य थापा संयोजकत्वमा गठित सात सदस्यीय संसदीय छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपलचनमा संलग्न रहेको प्रमाणसहित प्रतिवेदन सार्वजनिक गरिन लागेको हो।
समितिलाई तीन महिने समयावधि दिएकामा १५ दिन म्याद थपिको थियो। गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ।
सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने जोडिएको दाबी गर्दै तत्कमालीन प्रतिपक्ष कांग्रेसले संसदीय छानबिन समिति गठन माग गरेपछि प्रतिनिधिसभाले जेठ १५ मा सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो।
प्रतिवेदनमा सहकारी बचत रकम अपचलनमा रास्वपा सभापति लामिछाने दोषी देखिएको र कारबाही सिफारिस गर्ने कुरा लेखिएको समिति सदस्य लेखनाथ दाहालले बताए।
‘रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक र साझेदार भएको, कार्यालय सञ्चालन गर्ने हिसाबमा पनि मुख्य भूमिका र जिम्मेवारी देखिएकाले उहाँले सहकारीको रकम अपचलन गरेको प्रमाणसहित कारबाहीका लागि सिफारिस गरेका छौं,’ उनले भने।
संसदीय संसदीय समितिले लामिछानेसँग करिब १० घन्टा केरकार गर्दा सहकारीबाट बचत रकम गोर्खा मिडियामा आएको आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका थिए।
यद्यपि, रास्वपाबाट संसदीय समितिमा प्रतिनिधित्व गर्ने सांसद शिशिर खनालले प्रतिवेदनमा हस्ताक्षर गर्न हिच्किचाइरहेको बताइन्छ।
समितिमा कांग्रेसबाट दिलेन्द्र बढु (बद्री पाण्डे मन्त्री बनेपछि), ईश्वरी न्यौपाने, एमालेबाट सावित्रा भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।