बीबीसीका मास्टर सेफ सन्तोष साह। पछिल्ला केही वर्षयता सबैभन्दा धेरै सुनिएको नाम हो, यो। एसएलसी अनुत्तीर्णपछि सिराहाको कर्जन्हाबाट काम खोज्दै भारत पुगेका साह कसरी मास्टर सेफ बने भन्ने कथा धेरैका लागि प्रेरणादायी छ। साहले अहमदावादको रेस्टुराँमा भाँडा माझेको, किचनमा खाना पकाउने हुँदै हेड सेफसम्मको जिम्मेवारी र बीबीसी मास्टर सेफको उपाधिसम्मको यात्रा निकै रोचक छ।
भारतमा लामो समय काम गर्दा उनले सिकेको परिकार इन्डियन थियो। साह इन्डियन सेफ थिए। तर, बीबीसीको मास्टर सेफमा नेपाली परिकार बनाए र त्यसैबाट विजेता बने। पछिल्लो समय उनै सेफ सन्तोष मिथिला परिकारलाई स्वदेश तथा विदेशमा प्रवद्र्धनमा सक्रिय छन्।
‘म विदेश जाँदा सबै खाले नेपाली परिकार प्रवद्र्धन गर्छु। तर, नेपालमा छँदा मिथिला परिकार प्रवद्र्धन गरिरहेको हुन्छु’, उनले भने, ‘पछिल्ला केही वर्षयता मिथिला थालीको प्रवद्र्धनमा व्यस्त छु।’ मास्टर सेफको उपाधि जितेपछि साहको विश्वभर वाहवाही चुलियो। स्वदेश र विदेशबाट आएका कैयौं अफरलाई अस्वीकार्दै पछिल्लो समय मिथिला परिकारको प्रवद्र्धनमा जुटिरहेका छन्। यसको सुरुआत उनले एक वर्षअघि जनकपुरबाट गरेका थिए। जनकपुरबाट सुरु गरेको मिथिला थाली अहिले काठमाडौंका तीन स्थानमा फैलिइसकेको छ।
‘नेपालमा थकाली खाना मन पराउने धेरै छन्। हिमालको थकाली खानालाई तराईमा मन पराइन्छ भने तराईको परिकार पनि काठमाडौंमा पनि पक्कै मन पराइन्छ भन्ने विश्वास थियो’, उनले भने, ‘तर यसको सुरुआत जनकपुरबाट होस् भन्ने चाहना थियो।’ उनका अनुसार मिथिला थाली त्यसअघिसम्म होटल तथा रेस्टुरेन्टका मेन्युमा खासै हुँदैनथ्यो। जनकपुरमै पनि मिथिला थाली खुवाउने कुनै होटल तथा रेस्टुरेन्ट थिएनन्। ‘यस्तोमा मिथिला थाली खुवाउनै होटलसम्म ल्याउनु निकै चुनौतीपूर्ण थियो’, उनले भने।
साहको सपना जकपुरसहित काठमाडौंमा पनि सुरुमै मिथिला रेस्टुरेन्ट खोल्ने योजना थियो। तर, सुरुमा जनकपुरमा यसको परीक्षण आवश्यक ठाने। यदि जनकपुरले नै मन पराएन भने काठमाडौंमा रेस्टुरेन्ट खोल्नुको अर्थ हुँदैनथ्यो। उनी चाहन्थे, जनकपुरबासीले सेफ सन्तोषले बनाएको मिथिला खानामा मौलिकता झल्केको र आत्मीयता देखून्, पेटसँगै मन पनि भरियोस्।
सेफ साहले हालैको एउटा घटना सुनाए। झम्सीखेलमा रेस्टुरेन्ट सञ्चालन भएको केही दिनमा मधेसी समुदायको एक परिवार रेस्टुरेन्टमा डिनरका लागि आयो। साह त्यसबेला रेस्टुरेन्टमै थिए। ती परिवारकी एक महिलाले जब दालको स्वाद चाखिन्, उनका आँखामा आँसु टिल्पिल्याए। उनले साहलाई बोलाइन् र लामो समयपछि आमाको हातको खानाजस्तै स्वाद लिन पाएकामा मनभरिको धन्यवाद दिइन्।
मास्टर सेफको उपाधि जितेपछि साहको विश्वभर वाहवाही चुलियो। स्वदेश र विदेशबाट आएका कैयौं अफरलाई अस्वीकार्दै पछिल्लो समय मिथिला परिकारको प्रवद्र्धनमा जुटिरहेका छन्।
‘मिथिला थाली काठमाडौंमा ल्याउनुको उद्देश्य पनि यही हो। एउटा परिकारले कसैको मन भावविह्वल हुन्छ भने त्यहाँभन्दा बढी के कमाउनू छ?’ उनले खुसी बाँडे। काम वा पढाइका सिलसिलामा तराई छाडेर काठमाडौं आउनेहरुले आफ्नो घरपरिवार र भूमिसँग खाना पनि छाडेका हुन्छन्। आफू जहाँ गयो, खानालाई सँगै लिएर जान सम्भव पनि हुँदैन। त्यसैले त्यस्ता व्यक्तिलाई लक्षित गरी काठमाडौंमा मिथिला थाली भित्र्याएको साह बताउँछन्।
जनकपुरको मिथिला थालीमा सुरुआतदेखि नै ग्राहकको भीड अत्यधिक लाग्न थालेसँगै साहले राम्रो प्रतिक्रिया पाए। रेस्टुरेन्टमा खाना खाने जोकोहीले मिथिला थालीलाई व्यावसायिक रुप दिएकामा मुक्तकण्ठले प्रशंसा गर्थे। यसरी हौसला थपिँदा साहलाई लाग्यो, अब यो परिकार काठमाडौंसम्म पुर्याउनुपर्छ।
काठमाडौं उपत्यकामा सुरुमा उनले झम्सीखेलमा रेस्टुरेन्ट सुरुआत गरे। त्यसको एक महिनामा पशुपतिनाथ मन्दिर नजिकै गौशालामा विशुद्ध शाकाहारी रेस्टुरेन्ट सञ्चालनमा ल्याए भने अब केही दिनमा गैरीधारामा रेस्टुरेन्ट सञ्चालन गर्दै छन्।
सेफ सन्तोषले मिथिला थालीसँगै यसैमा करिअर बनाउने सेफलाई रोजगारी पनि दिएका छन्। ‘मिथिला थाली मात्रै प्रवद्र्धन हुँदैन, यसले रोजगारी सिर्जना गरिरहेको छ भने मधेसको ‘फेबरेट डिस’ काठमाडौंसम्म पनि ल्याएको छ’, उनले भने, ‘दाबीका साथ भन्न सक्छु, मैले जस्तो सस्तोमा मिथिला थाली र आर्ट अरु कसैले बिक्री गर्न सक्दैनन् भने राम्रो तलब पनि कसैले दिन सक्दैन।’
एउटै थालीमा १७ परिकार
सेफ सन्तोष मिथिला थालीलाई १७ परिकारले भरेका छन्। यसमा मिथिला थाली तिल र आलासले झानेको सलाद, आलुको चोखा, कडीबडी, बिरिया तरकारी, मौसमअनुसारको तरकारी, पनिर बटर, च्याउ वा पनिरजस्तो स्पेसल तरकारी, दाल, भात, दही, रोटी, तिलौरी, तरुवा, माछा, मासु र चार प्रकारका अचारले थाली भरिएको हुन्छ। त्यसबाहेक माटोका भाँडामा जनकपुरे लस्सी, पान, रसमलाई, जेरीलगायत स्वीटको पनि स्वाद लिन सकिन्छ।
‘मेरो चाहना काठमाडौंबासीले मिथिलाको स्वाद पाउन् भन्ने हो। पछिल्लो समय १७ परिकारको थालीलाई सबैले मन पराइदिनुभएको छ’, उनले भने। सेफ साहले गौशालामा गत असार ६ देखि सञ्चालनमा ल्याएको रेस्टुरेन्टमा विशुद्ध शाकाहारी परिकार मात्रै उपलब्ध हुनेछ। विशेषगरी पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने नेपाली र भारतीय धर्मावलम्बीलाई लक्षित गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।
जनकपुर–काठमाडौंपछि अब अयोध्या
जनकपुरबाट काठमाडौंसम्म मिथिला थाली ल्याएका सेफ सन्तोषले अब यसलाई भारतको अयोध्यासम्म लैजाने योजना बनाएका छन्। माता सीताको जन्मभूमि जनकपुर र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने पुल खाना पनि भएको उनको बुझाइ छ। यसमार्फत दुवै धार्मिक स्थलको पर्यटन प्रवद्र्धन र संस्कृति आदानप्रदानमा सघाउ पुग्ने उनको बुझाइ छ। अयोध्यापछि अन्य विभिन्न देशमा पनि मिथिला खानालाई लैजाने सन्तोषले लक्ष्य लिएका छन्।
परिकारसँगै मिथिला आर्टको प्रवर्द्धन
सेफ साहले मिथिला परिकारसँगै मिथिला आर्ट पनि प्रवद्र्धन गरिरहेका छन्। रेस्टुरेन्ट पुग्ने जोकोहीले मिथिला खानाको स्वाद मात्रै लिँदैनन्, भित्तामा कोरिएका मिथिला आर्ट पनि रुचिपूर्वक हेर्न सक्छन्। त्यति मात्रै होइन, कसैलाई मिथिला आर्ट मन परे खरिद गरेर लैजान पनि सक्छन्। यसबाट मिथिला कलाकर्मीलाई आम्दानी पनि हुने र मिथिला आर्टको प्रवद्र्धन पनि हुने। उनका अनुसार रेस्टुरेन्टमा मिथिला आर्ट १५ सयदेखि ६ हजार रुपैयाँसम्म बिक्रीमा उपलब्ध छ।
मिथिला खानाको बजार
जनकपुरबाट सुरु भएको मिथिला थालीको बजार अहिले काठमाडौंसम्म फैलिएको छ। अहिलेसम्मको अवस्था हेर्दा सेफ औधी खुसी छन्। ‘जनकपुरको रेस्टुरेन्टमा ९० प्रतिशत बाहिरबाट आउने व्यक्ति हुन्थे भने काठमाडौंमा आधा–आधाजस्तो। अर्थात्, आधा मधेसी समुदाय र आधा अन्य समुदायका ग्राहक छन्’, उनले भने, ‘काठमाडौंमा आएका मधेसबासीले आफ्नो खाना मिस गरिरहेका छन् भन्ने यसैबाट पुष्टि हुन्छ।’
सेफ साहका थकाली खाना ब्रान्डका रुपमा स्थापित हुन २० वर्षभन्दा बढी समय लाग्यो भने मिथिला खानाका लागि पनि लाग्न सक्छ। तर, यो खानाको स्वाद सबैले मन पराउनेमा भने उनी ढुक्क छन्। ‘मिथिला खानाको स्वाद धेरैले मन पराउँछन् भन्ने पुष्टि भइसकेको छ। समय लाग्ला तर यसको ब्रान्डिङ अन्तर्राष्ट्रिय स्तरसम्म हुनेमा ढुक्क छु’, उनले भने।