काठमाडौं। सेयर बजारमा ५०.७३ अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अंकले घटेर २६३७.७९ बिन्दुमा बन्द भएको हो। अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से ७८.३१ अंकले बढेर २६८८.५३ बिन्दुमा बन्द भएको थियो। त्यसअघि ६ कारोबार दिन भने नेप्से लगातार घटेको थियो।
आइतबार कारोबारको सुरुवाती समयमा बजार सकरात्मक देखिएपनि मध्यान्हपछि भने घट्दै गएको हो। ११ बजेर २५ मिनेटमा २७३४.५८ बिन्दुसम्म चढेको नेप्से २ बजेर ५७ मिनेटमा २६३०.११ बिन्दुम्म झरेको थियो। आइतबार नेप्सेमा १०४ अंकको उतारचढाव देखियो।
आइतबार नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आइतबार नेप्सेमा कुल १० अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो कारोबार दिन बिहीबार भने नेप्समो कुल ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसअघिका दुई कारोबार दिन पनि नेप्सेमा ६/६ अर्बको मात्रै कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २१९ कम्पनीको घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ। बजार घटेपनि रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रवा इनर्जीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
इस्टर्न हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा थ्री स्टार हाइड्रोको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ। आइतबार बैंकिङ समूहको सेयर मूल्य ०.९३ प्रतिशत, विकास बैंक समूहको २.५१ प्रतिशत, फाइनान्स समूहको ३.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.६८ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य १.४८ प्रतिशतले घटेको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य २.८० प्रतिशत, जीवन बिमा समूहको २.७४ प्रतिशत, उत्पादन समूह १.७९ प्रतिशत, लघुवित्त समूह १.८८ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.१६ प्रतिशतले घटेको छ।