काठमाडौ । ०७२ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विभिन्न १० ओटा सम्झौताहरु भएका थिए । त्यसमध्य एउटा बुँदामा नेपाल र चीनबीच अन्तरदेशीय बैंक सुपरीवेक्षणका लागि सूचना आदान–प्रदान गर्ने उल्लेख थियो ।
सो समयमा नेपालमा चिनियाँ बैंक आउँने निक्कै प्रचार प्रसार भयो । तर, सम्झौता भएको चार वर्ष हुन लाग्दा पनि चिनियाँ बैंक नेपालमा ल्याउने खासै प्रयास भएको देखिदैन ।
किन भएन प्रगति ?
नेपालले चीनसँग वर्षेनी अर्बौ रुपैयाँको कारोबार गरिरहेको छ । तर, सो सम्झौता पछि नेपालबाट चीन जाने प्रधानमन्त्री तथा मन्त्रीहरुले यस विषयमा कुनै कुरा नै उठाएनन् । नेपालमा चिनियाँ बैंक आउँदा ठुला पूर्वाधारहरुमा लगानीदेखि गर्ने देखि व्यवसायीहरुलाई पनि फाइदा हुने देखिन्छ । तर, हालसम्म पनि प्रक्रिया अघि नबढ्नुले चिनियाँ बैंक नेपालमा नआउने संभावना बढी देखिन्छ ।
२०७२ मा गरिएको सम्झौताले कुनै पनि विदेशी बैंकले नेपालमा शाखा खोल्ने तथा कारोबार गर्न सक्ने गरी बाटो खुला गरिएको हो । चिनियाँ बैंकहरुले नै चासो नदिंदा यो प्रक्रिया अघि बढ्न सकेको छैन ।
‘अहिलेसम्म एउटा पनि आवेदन परेको छैन, कसरी खुल्छ त बैंक ?’ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने । विदेशी बैंकलाई आउन नेपालले बाटो खोले पनि चिनियाँ पक्षले चासो नदिंदा आउन नसकेको डेपुटी गभर्नर शिवाकोटीको भनाई छ ।
के फाइदा हुन्छ चिनियाँ बैंक नेपाल आउँदा ?
नेपालमा चिनियाँ बैंक आउने बित्तिकै सबैभन्दा ठुलो फाइदा नेपाली व्यवसायीहरुलाई हुन्छ । जसले वर्षेनी चीनसँग अर्बौ रुपैयाँको कारोबार गरिरहेका हुन्छन् । सरकारले सीमापार कारोबार गर्दा चिनियाँ मुद्रामा खाता खोल्न र कारोबार गर्न सजिलो होस् भन्ने उद्देश्यले विदेशी बैंकलाई नेपाल आउन सक्ने व्यवस्था गरेको हो ।
यसले व्यपारलाई सहजीकरण हुने छ । २०४१ सालपछि नेपालमा धेरै विदेशी बैंकहरु आए । नबिल बैंक (तत्कालिन नेपाल अरब बैंक), नेपाल इन्भेस्टमेन्ट बैंक (नेपाल इण्डोस्वेज बैंक) लगायत भारत, पाकिस्तान, श्रीलंका तथा बंगलादेशको लगानीमा बैंक खुलेका छन् । तर चिनियाँ बैंक किन आएका छैनन् ? भन्न गाह्रो भएको डेपुटी गभर्नर शिवाकोटीले बताउँछन ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चीनतर्फको निर्यात ६ प्रतिशत र आयात १२.८ प्रतिशतले बढेको छ । नेपाली व्यवसायीलाई नेपाली बैंकले जारी गरिदिने टेलिग्राफिक ट्रान्सफर (टीटी), प्रतीतपत्र (एलसी) मार्फत कारोबार गर्न समस्या भइरहेको छ ।
चिनियाँ बैंक नेपालमा नहुँदा चिनियाँ मुद्रामा बैंक खाता खोल्नदेखि टीटी तथा एलसीमा कारोबार गर्न समस्या भइरहेको नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताउँछन । चिनियाँ बैंकले नेपालका बैंकहरुलाई विश्वास कम गर्ने भएकाले कयौं व्यवसायीहरुले व्यवसाय गर्न समस्या पर्ने गरेको अध्यक्ष दुलालको भनाई छ ।
त्यस्तै,नेपालमा चिनियाँ बैंक मात्रै आउने हो भने पनि हुन्डीमार्फत हुने कारोबारमा कमी आउनेछ । चिनियाँ मुद्रामा कारोबार भए नेपाली व्यवसायी तथा बैंक दुवैलाई डलर विनिमयदरको जोखिम कम हुन्छ ।