काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबारमा लाग्दै आएको शुल्क घटाउन पहल गर्ने बताएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताएका हुन्।
ओलीले सर्वसाधारणलाई आफ्ना समस्या सरकारलाई जानकारी गराइरहन अनुरोध गरेका छन्। 'हामीलाई सधैँ झकझकाउनुहोस्, सरकारले त्यसतर्फ काम गर्दै जाने छ,' ओलीले भनेका छन्।
हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीबाट सुझाव आइरहेको उनले बताए। 'आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं। इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं,' उनले भने।
जाजरकोटका अबिन बिकेले सामाजिक सञ्जालमा ‘अहिले म दैनिक रुपमा सय/पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०/७० रुपैयाँ खर्च हुन्छ। यसरी महिनामा मेरो दुई हजारदेखि २२ सयसम्म खर्च हुन्छ, यो कसरी हटाउने होला! भन्ने लेखेको र त्यसले मेरो ध्यान तानेको छ,' प्रधानमन्त्री ओलीले भने।
अहिले विभिन्न बैंकको मोबाइल बैंकिङमार्फत् पैसा ट्रान्सफर गर्दा न्युनतम १० रूपैयाँ शुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको छ। ईसेवालगायत वालेटबाट युटिलिटी पेमेन्ट गर्दा पनि ५ रूपैयाँभन्दा बढी लाग्छ। एनसीएचएलको कनेक्ट आईपीएसमार्फत पैसा पठाउन प्रतिकारोबार न्यूनतम ४ रूपैयाँ र थप १३ प्रतिशत भ्याट लाग्ने गरेको छ।